सार्थक ब्यूरो । नेकपा (एस) पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा गरिएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत पुनर्गठन अभियान अबदेखि नेकपा संयुक्तको नाम र संरचनाभित्र अघि बढ्ने जानकारी गराइएको हो।
एकता समझदारीअनुसार अब पार्टीले ‘हँसिया’ चिन्हमै राजनीतिक गतिविधि सञ्चालन गर्नेछ। दुवै पक्षले दुई महिनाभित्र राष्ट्रिय महाधिवेशन गरी एकता प्रक्रिया संस्थागत गर्ने सहमतिमा समेत हस्ताक्षर गरेका छन्।
घोषित दस्तावेजअनुसार एकतामा सहभागी दुवै समूहले मार्क्सवाद–लेनिनवादका सिद्धान्त, मानव जातिले हासिल गरेको स्वतन्त्रता र समताका मूल्य तथा वैज्ञानिक समाजवादको लक्ष्यलाई पार्टीको मूल मार्गदर्शक बनाउने निर्णय गरेका छन्। साथै, विश्व साम्राज्यवाद, वित्तीय पुँजीवाद, असमानता, शोषण, विभेद, गरिबी र युद्धविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धता बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
पार्टीले ‘दलाल पुँजीवाद’ हटाएर राष्ट्रिय पुँजी विकास गर्ने, आगामी १०–१२ वर्षमा सबै नेपालीलाई रोजगारीको अवसर सुनिश्चित गर्ने, र शासन प्रणालीमा देखिँदै आएका भ्रष्टाचार, ढिलासुस्ती तथा अपारदर्शिताको अन्त्य गर्दै सुशासनलाई सबलीकरण गर्ने लक्ष्य अघि सारेको छ।
एकता दस्तावेजमा उल्लेख भएअनुसार, समाजवादको आधार निर्माणलाई विस्तृत कार्यभारका रूपमा अगाडि सार्दै आगामी महाधिवेशनमा यसको ठोस रूपरेखा प्रस्तुत गरिनेछ।


















Discussion about this post