सार्थक ब्यूरो ।नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशका युवा नेताहरू केन्द्रीय कमिटीमा स्थान बनाउने लक्ष्यसहित सक्रिय भएका छन्। मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा प्रदेशभरिबाट १६ निर्वाचन क्षेत्र, प्रदेश कमिटी तथा विभिन्न संगठनमार्फत १४० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।
यो पटक पार्टीले प्रत्येक क्षेत्रबाट ४० वर्षमुनिका एक–एक युवा प्रतिनिधि अनिवार्य पठाउने निर्णय गरेपछि सुदूरपश्चिमबाट १६ जना युवा महाधिवेशनतर्फ चयन भएका छन्। केन्द्रीय कमिटीमा १० प्रतिशत युवा समावेश गर्ने नीति आएपछि उनीहरूबीच प्रतिस्पर्धा चर्किएको देखिन्छ।
अनेरास्ववियुमा उमेर सीमा लागू भएपछि विद्यार्थी राजनीतिबाट बाहिरिन बाध्य बनेका केही नेताहरू अहिले महाधिवेशन प्रतिनिधिका रूपमा पुनः सक्रिय भएका छन्। तीमध्ये अनेरास्ववियुका पूर्व उपाध्यक्ष गोविन्द गिरी बैतडीबाट र पूर्व महासचिव नरेश रोकाया बाजुराबाट प्रतिनिधि बनेका छन्। दुवैजना युवा केन्द्रीय सदस्यका प्रमुख दावेदार मानिन्छन्।
यस्तै, कैलाली–५ बाट प्रतिनिधि चयन भएका तीर्थ भट्टराई समेत युवा नेतृत्वका प्रमुख आकांक्षीको रूपमा अगाडि देखिएका छन्। लामो समय विदेश कमिटीमार्फत संगठनमा सक्रिय रहेका उनी हाल सुदूरपश्चिममा फर्किएर संगठन विस्तारमा केन्द्रित छन्। भट्टराई सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य तथा धनगढी उपमहानगर कमिटीका सह–इन्चार्जसमेत हुन्।
पार्टी संस्थापन पक्षसँग नजिक मानिने भट्टराई नेतृत्वको रोजाइमा पर्ने सम्भावना रहेको बुझिएको छ। यद्यपि, उनीलगायत युवा आकांक्षीहरूले औपचारिक रूपमा दाबी सार्वजनिक नगरे पनि आन्तरिक तयारी र समर्थन जुटाउने प्रयास तीव्र पारेका छन्।


















Discussion about this post