सार्थक ब्यूरो ।धनगढीमा आज सोमबारदेखि सुरु हुन लागेको १९औँ सुदूरपश्चिम महोत्सव आर्थिक गतिविधि र व्यापारिक चहलपहललाई ठूलो आकारमा अघि बढाउने अपेक्षा गरिएको छ। कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि निरन्तर गर्दै आएको यो महोत्सव यस वर्ष पनि विस्तारित रूपमै आयोजना हुन लागेको हो।
संघले पत्रकार सम्मेलनमार्फत महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। करिब ३ करोड रुपैयाँको लगानीमा सञ्चालन हुने महोत्सवबाट कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, वस्त्र, इलेक्ट्रोनिक्स, होटल तथा सूचना–प्रविधि क्षेत्रका ५ सयभन्दा बढी स्टलमार्फत लगभग १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।
यस वर्ष झन्डै ७ लाख अवलोकनकर्ता भित्रिने लक्ष्य लिइएको छ।
महोत्सव धनगढी–१ स्थित पशुपति टोलको खुला मैदानमा आयोजना हुने भएको छ। उद्घाटनका लागि अर्थमन्त्री रामेश्वर खनाल धनगढी आउँने कार्यक्रम तय छ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुंगाना तथा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
संघका अध्यक्ष पुष्करराज ओझाका अनुसार महोत्सवले सुदूरपश्चिमको उद्योग, कृषि, पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ। स्थानीय उत्पादनको बजार विस्तार, महिला उद्यमशीलता र लघु उद्योगलाई प्राथमिकतामा राखिएको बताइएको छ।
यस वर्ष ‘एक्सप्रेअर्म’ नामक नयाँ मनोरञ्जन सेवा थपेर बालबालिका तथा युवालाई आकर्षित गर्ने प्रयास गरिएको छ। साथै, डिजिटल भुक्तानी प्रबर्द्धनका लागि इसेवासँग अनलाइन टिकट पार्टनरशिप गरिएको छ, जसअनुसार मोबाइलमार्फतै टिकट खरिद गर्न सकिन्छ।
महोत्सवमा प्रवेशका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई १०० रुपैयाँ, जबकि जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि प्रवेश निःशुल्क व्यवस्था मिलाइएको छ।
सुरक्षा, सरसफाइ, पार्किङ तथा ट्राफिक व्यवस्थापनमा स्थानीय प्रशासन र सुरक्षानिकायसँग सहकार्य गरिएको आयोजकले जनाएको छ। महोत्सवबाट संकलित आम्दानीमध्ये केही हिस्सा महिला सशक्तीकरण तथा लागूऔषध दुरुपयोग नियन्त्रण जस्ता सामाजिक क्षेत्रमा खर्च गर्ने तयारी छ। महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।


















Discussion about this post