२५ वर्षपछि छाङरु–तिङ्करबाट नेपालकै बाटो हुँदै ‘कुन्चा’ आवतजावत सुरु

सार्थक ब्यूरो ।दार्चुलाको व्यास क्षेत्रका छाङरु र तिङ्कर गाउँमा बसोबास गर्ने सौका समुदाय अब फेरि नेपालकै भूमिगत मार्ग प्रयोग गरेर सदरमुकामसँग जोडिन पाउने भएका छन्। घोडेटो मार्ग जीर्ण बन्दै गएपछि करिब दुई दशकभन्दा बढी समयदेखि उनीहरू भारततर्फको बाटो प्रयोग गर्न बाध्य भएका थिए।
छाङरु गाउँले भारतको सीमा जोड्छ भने तिङ्कर गाउँ चीनको ताक्लाकोट नाकासँग जोडिएको छ। दुरदराज र कठिन भूपरिस्थितिमा रहेका यी दुवै बस्ती पहिलेदेखि नेपालकै बाटो हुँदै खलङ्गासम्म आवतजावत गर्ने परम्परा थियो। तर २०५७ सालतिरदेखि मार्ग अवरुद्ध भएपछि नेपालतर्फको यात्रा ठप्प भएको थियो।
सङ्घीय सरकारको बजेटमा सुरु गरिएको घोडेटो मार्ग पुनर्निर्माणले अब त्यहाँका नागरिकलाई पहिले जस्तै सहज यात्राको व्यवस्था मिलाएको स्थानीय योगेशसिंह बोहोराले बताए। उनका अनुसार नेपाली सेनाको प्राविधिक सहयोगमा मार्गका प्रमुख भाग पुनः निर्माण गरिएका छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा व्यास–२ तम्बाकु क्षेत्रमा ७२० मिटर बाटो निर्माण गरिएको थियो। यस वर्ष आतुङ्ती र कल्जु खण्डमा थप ३ सय मिटर नयाँ बाटो बनाइएको दार्चुला–तिङ्कर सडक आयोजनाका प्रमुख, प्रमुख सेनानी राजेश कटुवालले जानकारी दिए। दुम्लिङदेखि छाङरुसम्म घोडेटो मार्ग करिब २९ किलोमिटर लम्बाइको रहेको छ।
मार्गका बाँकी भाग निर्माण कम्पनी मिसन–देवहरि जेभीले सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि केशवबहादुर पालले बताए। मार्ग तयार भएपछि सौका समुदायको ‘कुन्चा’—अर्थात बसाइँसर्ने परम्परागत प्रक्रिया—यस वर्ष करिब २५ वर्षपछि फेरि नेपालकै बाटोबाट सदरमुकाम ल्याइएका छन्।
बोहोराका अनुसार भारततर्फबाट आउँदा वर्षौंदेखि अनेक सुरक्षा र प्रशासनिक झन्झट झेल्नुपर्दै आएको थियो। “यस वर्ष नेपालकै बाटो प्रयोग गर्न पाएपछि सहज भयो,” उनले भने।
सङ्घीय सरकारबाट गत वर्ष विनियोजित पाँच करोड ५० लाख रुपैयाँ र व्यास गाउँपालिकाको ५० लाख रुपैयाँ प्रयोग गरेर मार्ग निर्माण सम्पन्न गरिएको हो। अधिकांश ‘कुन्चा’ यसपटक पनि भारतीय मार्ग हुँदै आएका भए पनि केही परिवार भने नयाँ पुनर्निर्मित मार्ग प्रयोग गरेर खलङ्गा पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित