सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकास आयोजना लामो समयसम्म रोकिएको अवस्थालाई अब प्रदेश सरकारले सहन नसक्ने स्पष्ट चेतावनी दिएका छन्। धनगढीमा आयोजित बहुवर्षीय आयोजनाको प्रगति मूल्यांकन कार्यक्रममा बोल्दै उनले बजेट खर्चमा लापरबाही, निर्माणमा सुस्तता र अनावश्यक बहानालाई अब कसैले पनि क्षमा नपाउने बताए।
हालै अछाम र बाजुरा पुगेका मुख्यमन्त्री शाहले आर्थिक वर्ष २०७५/७६ देखि थन्किएर बसेका पूर्वाधार योजनाको निरीक्षणपछि प्रदेश सरकार कडाइमा जाने मनस्थितिमा रहेको टिप्पणी गरे।
“काम समयमै नगर्ने ठेकेदारलाई छुट छैन,” उनले भने, “निर्माण कम्पनी होस् वा मन्त्रालयका कार्यालय—काम रोक्का पार्ने जोकोही कानुनी दायरामा पर्छन्।”
बाजुरामा लामो समयदेखि रोकिएको सडक निर्माणलाई उदाहरण दिँदै उनले स्थानीय बासिन्दाको भरोसा पुनः स्थापित हुने गरी योजना सम्पन्न गर्न आवश्यक निर्देशन दिए। साथै, मार्तडी–कोल्टी सडकखण्डमा पहिरो व्यवस्थापन गरी यातायात सुचारु बनाउन सम्बन्धित निकायलाई तत्काल पहल गर्न आग्रह गरे।
बैठकमा अछाम र बाजुरामा निर्माणाधीन मार्तडी–कोल्टी–पिलिचौर, सेरा–आँटीचौर–थामलेक, जयगढ–माझेठाना–रामारोशन, चिसापानी–जङ्गलघाट–बडीमालिका सडकलगायतका आयोजनाहरू समयमै सम्पन्न गर्न जोड दिइयो।
त्यसैगरी खप्तड–मार्तडी–भौनेरा–आँटीचौर, विनायक–लयाटी–पुलेतोला–रामारोशन लगायतका सडक सहजरूपमा अघि बढाउन छलफल गरियो।
यी योजनाहरू पूर्वाधार विकास कार्यालय अछाममार्फत सञ्चालन भइरहेको छन्। बानियाँ निर्माण सेवा, वज्रगुरु कन्स्ट्रक्सन, अनक जयदेवी जेभी, पिएस बानियाँ जेभी, केएसएम–केबिसीरतेज जेभी, शनिदेव कन्स्ट्रक्सन र नाति कन्स्ट्रक्सन लगायतका ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिएका छन्।
बैठकमा सहभागी निर्माण व्यवसायीले मुआब्जा निस्कासन ढिलाइ, घरटहरा सार्नुपर्ने चुनौती, श्रमिक अभाव, जग्गा प्राप्तिमा समस्या, सामग्री मूल्यवृद्धि तथा आर्थिक मन्दीका कारण समयमै काम पूरा गर्न कठिनाइ हुने तर्क प्रस्तुत गरे। साथै, वन क्षेत्र तथा भौगोलिक दुर्गमता पनि आयोजनामा बाधक बनेको उनीहरूको भनाइ थियो।


















Discussion about this post