सार्थक ब्यूरो ।भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको करिब १०८ रोपनी क्षेत्रफलमा तयार गरिएको उद्घाटनस्थल अहिले अन्तिम तयारीमा व्यस्त देखिन्छ। मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको पहिलो दिनको कार्यक्रम यही स्थलमा आयोजना हुने तय छ।
देशका विभिन्न भागबाट आएका प्रतिनिधिहरू आजभरि उद्घाटन क्षेत्रको अवलोकन, नेतृत्वसँग भेटघाट, फोटो तथा भिडियो सामग्री तयार पार्नेजस्ता गतिविधिमा व्यस्त रहे । ‘अहिले सम्म अधिकांश प्रतिनिधिहरू आइपुगिसकेका छन्,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
उद्घाटन मञ्चलाई चाँगुनारायण मन्दिरको वास्तुकलाबाट प्रेरित गरी तयार पारिएको छ। मल्लकालीन शैलीका संरचना, उपत्यकाका पुरातात्विक पहिचान झल्किने डिजाइन र दायाँ–बायाँ हिमाली आकृतिसहित निर्माणकार्य भइरहेकाले स्थलमा कार्यकर्ता तथा स्थानीयको भीड बढिरहेको छ।
मञ्च निर्माणको नेतृत्व गरिरहेकी एमाले भक्तपुर उपाध्यक्ष तथा बागमती प्रदेशकी स्वास्थ्य मन्त्री किरण थापाका अनुसार मुख्य मञ्चको संरचना प्रायः पूरा भइसकेको छ। उनका अनुसार करिब ३० वटा अस्थायी शौचालय, प्रवेशद्वार तथा अन्य सहायक संरचनाहरू पनि अन्तिम चरणमा छन्।
थापाले मञ्चलाई यस्तो डिजाइन गरिएको बताइन्, जसले वक्ताले भाषण देँदा चाँगुनारायण मन्दिरको सिँढीमै उभिएको अनुभूति दिलाओस्। मञ्चमा नेवारी कलासंस्कृति झल्कने सजावट पर्नेछ।
स्थलको उत्तरपट्टी अस्थायी शौचालयहरूको निर्माण भइरहेको छ भने अतिथि तथा सर्वसाधारणका लागि छुट्टाछुट्टै प्रवेशद्वारहरू बनाइँदै छन्। उद्घाटन दिनका लागि झाँकी प्रदर्शनका गेटहरू पनि जडान हुँदैछन्।
कार्यक्रम स्थलमा करिब तीन लाख जना अटाउने व्यवस्था मिलाइएको छ। दर्शकका लागि २५ हजार कुर्सी रहने र विभिन्न पार्टीका शीर्ष नेता तथा विदेशी कूटनीतिक प्रतिनिधिहरू समेत सहभागी हुने तयारी गरिएको उपाध्यक्ष थापाले बताइन्।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले कार्यक्रम अनुशासित र व्यवस्थित बनाउन १० हजार नेशनल भोलिन्टियर्ससहित विभिन्न जनसंगठनका स्वयंसेवक परिचालन गरिने जानकारी दिए। विशेष पोसाकमा ५५० स्वयंसेवक पनि तोकिएको उनले उल्लेख गरे।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि मध्यान्ह उद्घाटन गर्ने कार्यक्रम छ। त्यस दिन पूर्वतर्फबाट जगाती र पश्चिमतर्फबाट गठ्ठाघरसम्मका क्षेत्रबाट विशाल र्यालीसहित सहभागीहरू सल्लाघारीतर्फ आउनेछन्।
महाधिवेशनको तयारीअन्तर्गत अध्यक्ष ओलीको हस्ताक्षर रहेको निमन्त्रणा पत्रसहित भक्तपुरका चारै नगरपालिकामा घरदैलो कार्यक्रम सम्पन्न भएको जिल्ला अध्यक्ष बचन देउजाले बताए। उनका अनुसार वडास्तरमा कार्यकर्ताले घर–घर पुगेर करिब २२ हजार निमन्त्रणापत्र वितरण गरिसकेका छन्। आज ब्यानर तथा पार्टी झण्डा राखेर प्रचार गरिएको र भोलिदेखि माइकिङ सुरु हुने उनले जानकारी दिए।
उद्घाटन दिन भक्तपुरका सबै वडाबाट सांस्कृतिक झाँकीसहित र्याली प्रक्रिया गरी स्थल प्रवेश गराउने तयारी अन्तिम चरणमा पुगेको देउजाले बताए। भक्तपुरबाट मात्र करिब २५ हजार कार्यकर्ता सहभागी गराउने लक्ष्य राखिएको छ।


















Discussion about this post