सार्थक ब्यूरो ।नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टस सुदूरपश्चिम रोयल्सले जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका दुवै टोलीबीचको फाइनल खेललाई चासोका साथ हेरिएको छ। लिग चरणमा प्रभावशाली प्रदर्शन गर्दै शीर्ष स्थानमा रहँदै आएको सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै सिधै फाइनलमा स्थान बनाएको हो। यो सुदूरपश्चिमको एनपिएल फाइनलमा दोस्रो उपस्थिति हो। अघिल्लो संस्करणमा टोली जनकपुर बोल्ट्ससँग उपाधि खेलमा पराजित भएको थियो।
लुम्बिनी लायन्स भने यस संस्करणमा पहिलो पटक प्लेअफमा प्रवेश गर्दै फाइनलसम्म पुग्न सफल भएको टोली हो।
सुदूरपश्चिम रोयल्सको प्लेइङ–११ मा कप्तान दीपेन्द्रसिंह ऐरीसहित आरिफ शेख, अभिनाश बोहरा, इशान पाण्डे, दीपक बोहरा, विनोद भण्डारी, हेमन्त धामी, हरमित सिंह, सेल्डन ज्याक्सन, स्कट कुगेलिइन र पुनित मेहरा रहेका छन्।
त्यसैगरी, लुम्बिनी लायन्सको टोलीमा कप्तान रोहित पौडेलसँगै सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, अभिषेक गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, मोविन शुभसिंहा, रूबेन ट्रम्पलम्यान, विकेटकिपर निरोशन डिक्वेला र डार्सी शर्ट समावेश छन्।


















Discussion about this post