कर्णालीमा नेकपा नेताहरूको सन्देश सभा : आत्मालोचना, माफी र समाजवादको प्रतिबद्धता

सार्थक ब्यूरो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरू कर्णाली पुगेर जनतासामु विगतका कमजोरी स्वीकार गर्दै माफी मागेका छन् । वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै नेताहरूले आत्मालोचनासँगै समाजवादी भविष्यको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सभालाई सम्बोधन गर्दै नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि आफूहरू नयाँ ढंगले अघि बढ्ने निष्कर्षमा पुगेको दाबी गरे । जेनजी आन्दोलनले पुराना राजनीतिक दल र नेतृत्वलाई गम्भीर चुनौती दिएको र त्यसकै परिणामस्वरूप विभिन्न कम्युनिस्ट घटकहरू एकतामा जुट्न सफल भएको उनले बताए ।
प्रचण्डका अनुसार जेनजी आन्दोलनले ‘सच्चिने कि सकिने’ भन्ने स्पष्ट सन्देश दिएको थियो । “हामीले त्यो चुनौती स्वीकार गर्‍यौँ र सच्चिने बाटो रोज्यौँ,” उनले भने, “जेनजीको चेतनालाई आत्मसात गर्ने पहिलो पार्टी हामी हौँ ।”
नेपाली कम्युनिस्ट पार्टी गठनपछि कर्णालीमा पहिलो पटक संयुक्त रूपमा आयोजना गरिएको यस सभामा नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो । कर्णालीलाई आफ्नो ऐतिहासिक आधार क्षेत्र मान्ने माओवादी पृष्ठभूमिका नेताहरू सभालाई सफल बनाउन केही दिनदेखि सक्रिय थिए ।
सभामा उत्साहित देखिएका प्रचण्डले कर्णालीलाई कम्युनिस्ट आन्दोलनको गौरवपूर्ण इतिहास बोकेको प्रदेशको रूपमा व्याख्या गरे । यद्यपि, उनी स्वयं कर्णालीका लागि नयाँ अनुहार नभएको उल्लेख गर्दै, २०५२ सालदेखि कर्णालीलाई आधार बनाएर सुरु भएको सशस्त्र आन्दोलन र त्यसले ल्याएका बलिदानको स्मरण गराए ।
यस पटक भने प्रचण्ड माओवाद त्यागेर ‘मार्क्सवाद–लेनिनवाद’ लाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारेको अवस्थामा कर्णाली पुगेका थिए । उनले विगतका गल्तीबाट पाठ सिक्दै १६ भन्दा बढी कम्युनिस्ट शक्तिलाई एउटै पार्टीमा समेट्ने प्रयास भइरहेको बताए ।
सुदूरपश्चिमबाट सुरु भएको एकता सन्देश सभा कर्णालीमा आएर टुंगिएको उल्लेख गर्दै उनले आगामी दिनमा कर्णाली र सुदूरपश्चिममा नेकपा निर्णायक शक्ति बन्ने दाबी गरे । एमालेभित्रका केही नेतासमेत एकताका विषयमा संवादमा रहेको प्रचण्डको भनाइ थियो ।
सभामा प्रचण्डले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङप्रति कडा टिप्पणी गरे । लोडसेडिङ अन्त्यको श्रेय एक्लैले लिन खोजेको आरोप लगाउँदै उनले आफू प्रधानमन्त्री हुँदा गरिएको पहलको स्मरण गराए । घिसिङप्रति ‘बैगुनी व्यवहार’ गरेको आरोप लगाउँदै उनले आफूविरुद्ध नउभिन चेतावनीसमेत दिए ।
सभालाई सम्बोधन गर्दै नेकपाका सहसंयोजक माधवकुमार नेपालले विगतमा सत्ता सञ्चालनका क्रममा अपेक्षित काम गर्न नसकेको स्वीकार गरे । भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी मुलुक समृद्ध नहुने भन्दै उनले आत्मालोचनासहित इमानदार राजनीतिमा अघि बढ्ने प्रतिबद्धता जनाए ।
त्यस्तै, नेता वामदेव गौतमले पनि पटकपटक सत्तामा रहेर पनि देश विकास गर्न नसकिएको स्वीकार गर्दै समाजवाद निर्माण गर्न नसके जेल जानसमेत तयार रहेको अभिव्यक्ति दिए । उनले नेता मात्र होइन, आम जनताका घरघरमा पुगेर माफी माग्नुपर्ने आवश्यकता औँल्याए ।
नेकपा नेता नारायणकाजी श्रेष्ठले एमाले र कांग्रेसले सुशासनलाई प्राथमिकता नदिँदा जेनजी आन्दोलन जन्मिएको दाबी गरे । उनले अब पार्टीले आत्मालोचना गर्दै आफूलाई परिवर्तन गर्नुपर्ने बताए
नेता भीम रावलले भने राष्ट्रवादी मुद्दामा केन्द्रित रहँदै अपर कर्णाली जलविद्युत आयोजना र भारतीय कम्पनी जीएमआरको आलोचना गरे । साथै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति तीखो टिप्पणी गर्दै जेनजी आन्दोलनको दमन गरिएको आरोप लगाए ।
सन्देश सभामा झलनाथ खनाल, वामदेव गौतम, प्रकाश ज्वालालगायत नेताहरूले समाजवाद नै पार्टीको मूल लक्ष्य भएको दोहोर्‍याए । नेपाली विशेषतामा आधारित समाजवादको विकल्प नरहेको उनीहरूको भनाइ थियो ।
नेकपाले कर्णालीमा सन्देश सभा गर्नुको अर्को पृष्ठभूमि माओवादीका पूर्व उपमहासचिव जनार्दन शर्माको पार्टी परित्यागसँग पनि जोडिएको देखिन्छ । यद्यपि सभामा नेताहरूले शर्माबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेनन् ।
सभाको अन्त्यमा नेताहरूले आगामी निर्वाचनमा कर्णाली प्रदेशमा नेकपा पहिलो शक्ति बन्ने दाबी दोहोर्‍याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित