सार्थक ब्यूरो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भीमदत्त नगर समितिको अध्यक्ष र सचिव चयनका लागि आइतबार मतदान हुने भएको छ । दुवै पदमा एकभन्दा बढी आकांक्षी देखिएपछि सहमतिको प्रयास असफल भएको हो ।
शनिबार कञ्चनपुर उद्योग वाणिज्य संघको सभाहलमा सुरु भएको नगर अधिवेशनको उद्घाटनपछि बन्दसत्रमार्फत नगर समिति चयन प्रक्रिया अघि बढाइएको थियो । अध्यक्ष र सचिव पदमा सहमति जुटाउने प्रयास साँझसम्म गरिएको भए पनि निष्कर्षमा पुग्न नसकिएपछि निर्वाचन प्रक्रियाबाट चयन गर्ने निर्णय गरिएको हो ।
अध्यक्ष पदका लागि निवर्तमान नगर अध्यक्ष अम्बादत्त जोशीसहित दिनेश भट्ट, विरेन्द्र तिवारी र योगेश शाही प्रतिस्पर्धामा छन् । सचिव पदमा पनि एकभन्दा बढी आकांक्षी रहेकाले सहमति हुन सकेन ।
अध्यक्ष र सचिव बाहेक अन्य पदाधिकारी तथा सदस्यहरू भने सर्वसम्मत रूपमा चयन भएका छन् । सर्वसम्मत रूपमा चयन भएका पदाधिकारी र सदस्यहरूले शनिबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् ।
भीमदत्त नगर अध्यक्षका आकांक्षी विरेन्द्र तिवारीले सहमतिको प्रयास सफल नभएपछि लोकतान्त्रिक प्रक्रियाअनुसार मतदानमा जाने निर्णय गरिएको जानकारी दिए ।
आइतबार ऐठपुरस्थित पार्टी कार्यालयमा मतदान हुने जनाइएको छ । नगर अधिवेशनको उद्घाटन पार्टीका नेता दिलबहादुर विष्टले गरेका थिए ।


















Discussion about this post