चुनावी खर्च बैंकमार्फत अनिवार्य, उम्मेदवारले छुट्टै खाता खोल्नुपर्ने व्यवस्था

सार्थक ब्यूरो ।निर्वाचन आयोगले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको निर्वाचन आचारसंहिता–२०८२ मा निर्वाचन खर्चसम्बन्धी नयाँ प्रावधानहरू समावेश गरेको छ। आयोगले सार्वजनिक गरी राय–सुझावका लागि राखेको प्रस्तावित आचारसंहितामा उम्मेदवार र राजनीतिक दल दुवैले खर्च तथा आम्दानी पूर्ण रूपमा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ।
आचारसंहिताअनुसार निर्वाचन खर्चको पारदर्शिता सुनिश्चित गर्न उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा हुने अनुमानित खर्च र त्यसको स्रोतसमेत खुलाउनुपर्नेछ। साथै, निर्वाचनका क्रममा हुने सबै खर्चका बिल तथा भरपाई सुरक्षित राख्नुपर्ने प्रावधान राखिएको छ।
प्रस्तावित व्यवस्थामा उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट मात्र खर्च गर्नुपर्ने उल्लेख छ। खर्च व्यवस्थापनका लागि उम्मेदवारले आफ्नो तर्फबाट जिम्मेवार पदाधिकारी तोक्नुपर्ने र ती पदाधिकारीको नाम, ठेगाना र विवरण निर्वाचन अधिकृतको कार्यालय तथा सम्बन्धित निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्नेछ।
यस्तै, राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्न अलग्गै बैंक खाता खोल्नुपर्ने र दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत मात्र उक्त खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ। २५ हजार रुपैयाँभन्दा बढी रकमको आर्थिक सहयोग प्राप्त गर्दा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्ने प्रावधानसमेत प्रस्तावित आचारसंहितामा समेटिएको छ।
व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगका रूपमा नगद प्राप्त भएमा रसिद वा भरपाई दिई उक्त रकम बैंक वा वित्तीय संस्थामा जम्मा गर्नुपर्नेछ। साथै, आम्दानी र खर्चको विस्तृत विवरण तथा सम्बन्धित बिल–भरपाई प्रचलित कानूनअनुसार आयोगले तोकेको ढाँचामा जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
आयोगले आवश्यक ठानेमा खर्चसम्बन्धी सक्कल बिल–भरपाई तथा बैंक खाताको विवरण पेस गर्न आदेश दिन सक्ने उल्लेख गर्दै निर्वाचन सम्पन्न भएपछि तोकिएको अवधिभित्र खर्च विवरण सार्वजनिक गरी आयोग वा निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था प्रस्तावित आचारसंहितामा समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित