सुदूरपश्चिम महोत्सवको आठौँ दिन आज, बद्री पगेँनीसहित विभिन्न कलाकारको प्रस्तुति

सार्थक ब्यूरो ।धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सव आज आठौँ दिनमा प्रवेश गरेको छ। आजको सांस्कृतिक कार्यक्रममा चर्चित लोकगायक बद्री पगेँनीको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। लोकसंस्कृति र आम जनजीवनका अनुभूति गीतमार्फत प्रस्तुत गर्दै आएका पगेँनीको कार्यक्रम दर्शकका लागि आकर्षक हुने अपेक्षा गरिएको छ।
आयोजक संस्था कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार आजको कार्यक्रममा बद्री पगेँनीसँगै गायक रमेशराज भट्टराई, टेक बीसी, भरत बोहरा, ध्वज महरालगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूले पनि प्रस्तुति दिनेछन्।
मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव पुस २ गतेसम्म चल्नेछ। महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय उत्पादन, हस्तकला, कृषि तथा औद्योगिक सामग्रीका विभिन्न स्टलहरू राखिएका छन्। यसले स्थानीय व्यवसायको प्रवर्द्धन गर्नुका साथै आन्तरिक पर्यटनलाई पनि प्रोत्साहन दिएको आयोजकको भनाइ छ।
महोत्सवस्थलमा दैनिक रूपमा सांगीतिक कार्यक्रम, सांस्कृतिक झाँकी, बाल उद्यान तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन भइरहेका छन्। उल्लेख्य दर्शक सहभागितासँगै महोत्सवले सुदूरपश्चिमको कला, संस्कृति र पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्‍याएको स्थानीयवासीहरूले बताएका छन्।
आयोजकले आगामी दिनहरूमा पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने जानकारी दिँदै मनोरञ्जनसँगै स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग गर्न सबैलाई महोत्सवमा सहभागी हुन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित