सार्थक ब्यूरो ।नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँस्थित भृकुटीमण्डपमा मतदान प्रक्रिया जारी छ। महाधिवेशन प्रतिनिधिहरूले ८० वटा भोटिङ मेसिन प्रयोग गरेर मत खसालिरहेका छन्।
मेसिनमार्फत मतदान व्यवस्था भए पनि उम्मेदवार संख्या धेरै भएकाले एक जना प्रतिनिधिलाई मतदान गर्न अपेक्षाकृत लामो समय लागिरहेको छ। केही मतदाताका अनुसार उम्मेदवारको सूची हेर्न मात्र पनि निकै समय खर्चिनु परेको छ।
यसैबीच, एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले मतदान आज राति १० बजेसम्म सम्पन्न हुने अनुमान गरिएको जानकारी दिएका छन्। उनले प्रारम्भिक रूपमा साँझ ८ बजेसम्म मतदान सकिने अपेक्षा गरिएको भए पनि समय थपिन सक्ने भन्दै अधिकतम राति १० बजेसम्म प्रक्रिया टुंगिने बताएका छन्।
निर्वाचनका लागि ८० वटा भोटिङ मेसिन राखिएको छ भने प्रत्येक मतदाताले करिब ३०० जना उम्मेदवारका लागि मत दिनुपर्ने व्यवस्था छ। यस निर्वाचनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ।
पदाधिकारीतर्फ अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन र नौ जना सचिव निर्वाचित हुनेछन्। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ। दुवै समूहका उम्मेदवारसहित करिब ६५० जना उम्मेदवार चुनावी मैदानमा छन्।


















Discussion about this post