सार्थक ब्यूरो ।कञ्चनपुरस्थित टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइका लागि पानी प्रवाह गर्न भारतसँग आवश्यक समन्वय र पहल भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बताएका छन्।
राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत ब्रह्देवमा रहेको टनकपुर व्यारेजको बुधबार बिहान स्थलगत निरीक्षणपछि उनले पानी छोड्ने विषयमा दुई देशबीचका संयन्त्रमार्फत निरन्तर छलफल, द्विपक्षीय भेटघाट र पत्राचार भइरहेको जानकारी दिए।
मन्त्री घिसिङका अनुसार नेपालतर्फ मुख्य नहरसहित शाखा र प्रशाखा नहरको निर्माण सम्पन्न भइसकेको छ। भारतीय पक्षबाट पानी प्रवाहको निर्णय भए कञ्चनपुरका करिब पाँच हजार हेक्टर सुख्खाग्रस्त जमिनमा तत्काल सिँचाइ सुविधा पुग्ने विश्वास उनले व्यक्त गरे।
नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिअनुसार हिउँदमा ३०० क्युसेक र वर्षायाममा १ हजार क्युसेक पानी नेपालले पाउने व्यवस्था छ। सन्धिअनुरूप आवश्यक संरचना तयार भइसकेका छन्। करिब ९ अर्ब रुपैयाँ लगानी भइसके पनि पानी सञ्चालन नहुँदा प्रतिफल नआएको भन्दै स्थानीयस्तरमा आलोचना भइरहेको आयोजनाले जनाएको छ। पानी नबग्दा बनाइएका संरचना क्षति हुन थालेकोसमेत आयोजनाको भनाइ छ।
महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार र भूमिगत सिँचाइबाट ५ हजार गरी कुल ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको छ। आयोजनाको कुल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ।


















Discussion about this post