सार्थक ब्यूरो ।कञ्चनपुर उद्योग वाणिज्य संघले जिल्लामा निर्माणाधीन ठूला पूर्वाधार आयोजनामा देखिएका कानुनी समस्याका कारण काम अवरुद्ध भएको भन्दै ती अड्चन तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। संघले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङसँग निर्माण प्रक्रिया सहज बनाइदिन माग गरेको हो।
बुधबार बिहान कञ्चनपुरका आयोजनाहरूको स्थलगत अवलोकनका क्रममा मन्त्री घिसिङलाई संघको सभा कक्षमा स्वागत गर्दै अध्यक्ष पिताम्बर जोशीले मागपत्र हस्तान्तरण गरेका छन्।
मागपत्रमा महाकाली करिडोरको निर्माण तीव्र पार्नुपर्ने, सुख्खा बन्दरगाह तथा मझगाउँ विमानस्थल निर्माणमा देखिएका कानुनी झमेलाहरू समाधान गरी शीघ्र काम अघि बढाउनुपर्ने उल्लेख छ।
यसका साथै सीमा क्षेत्रका समस्या समाधान, उद्योगी–व्यवसायीले डिमाण्ड लाइनमार्फत तिर्नु परिरहेको उच्च विद्युत् शुल्क घटाउनुपर्ने तथा सर्वसाधारण उपभोक्तामाथि लगाइँदै आएको अत्यधिक विलम्ब शुल्क कम गर्नुपर्ने मागसमेत संघले अघि सारेको छ।


















Discussion about this post