सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्वको अवसरमा पुस ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको निर्णयअनुसार सो दिन सबै सरकारी तथा सार्वजनिक निकायमा बिदा रहनेछ।
प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार भुवा पर्वलाई मध्यनजर गर्दै बिदा दिइएको हो। यो पर्व सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराई क्षेत्रमा पनि परम्परागत रूपमा मनाइन्छ। विशेषगरी बाजुरा र बझाङबाट बसाइँ सरेर कैलाली र कञ्चनपुर पुगेका समुदायले यो पर्वलाई निरन्तरता दिँदै आएका छन्।
भुवा पर्व पुस महिनाको औँसीबाट सुरु हुने जनाइएको छ। पिठोको टीका लगाएर खेल आरम्भ गर्ने चलन रहेकाले यस सुरुवातलाई ‘पिठाया’ भनिन्छ। यस अवसरमा समूह बनाएर गाउँ–गाउँ पुग्दै पिठाया लगाउने र भुवा नाच प्रस्तुत गर्ने परम्परा छ।
पौराणिक कथनअनुसार द्वापर युगमा पाण्डवहरूले कौरवमाथि विजय हासिल गरेपछि निकालिएको विजयी जुलुसमा तरबार र ढालसहित गरिएको नृत्यकै स्मृतिमा भुवा खेल सुरु भएको मानिन्छ। यसैबीच, भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाजले धनगढीमा विशेष भुवा पर्व महोत्सव आयोजना गर्ने जनाएको छ।


















Discussion about this post