सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशबाट पछिल्लो करिब एक वर्षको अवधिमा ५० हजारभन्दा बढी युवा रोजगारीका लागि विदेशिएका छन्। श्रमस्वीकृतिको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३८ हजार २५४ जना र चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्म थप १२ हजार ७७७ जना वैदेशिक रोजगारीमा गएका छन्। यसरी १४ महिनामा विदेशिनेको संख्या ५१ हजार ३१ पुगेको छ, जसमा चार हजार ३४४ महिला रहेका छन्।
विदेश जाने युवामध्ये बैतडी, कैलाली, कञ्चनपुर र अछाम जिल्लाका नागरिकको संख्या बढी छ। गत एक वर्षको अवधिमा मात्र बैतडीका पाँच जना युवाको वैदेशिक रोजगारीकै क्रममा मृत्यु भएको जनाइएको छ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा बैतडीबाट पाँच हजार २५१, अछामबाट सात हजार २५, कैलालीबाट सात हजार ६४६, कञ्चनपुरबाट छ हजार ६५८, बझाङबाट तीन हजार ७७, बाजुराबाट दुई हजार ५७८, दार्चुलाबाट दुई हजार ४६८ र डोटीबाट एक हजार १२१ जना गरी कुल ३८ हजार २५४ जना विदेशिएका थिए।
यसै सन्दर्भमा बिहीबार दशरथचन्द नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ का अवसरमा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नगरपालिकाका सबै ११ वडाका सचिवको सहभागिता रहेको थियो। सो अवसरमा नेपालबाट श्रमस्वीकृति लिएर विदेश जानेको कुल संख्या ८९ लाख ६५ हजार ३८२ पुगेको तथ्याङ्क सरोकारवालालाई जानकारी गराइएको थियो।
कार्यक्रममा दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशीला चन्दले सीपबिना विदेश जाँदा अपेक्षित आम्दानी नहुने भएकाले युवालाई सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जान वडा तहबाटै सचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
दशरथचन्द नगरपालिकामा गत वर्षदेखि श्रमस्वीकृति प्रदान गर्ने सेवा सुरु भएपछि जानकारी र सचेतना बढे पनि वैदेशिक रोजगारीका नाममा हुने ठगी भने अझै रोक्न नसकिएको रोजगार शाखा संयोजक नन्दजा जोशीले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म आप्रवासी स्रोत केन्द्रबाट ५०४ जनाले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी परामर्श सेवा लिएका छन् भने सो अवधिमा सात वटा ठगीसम्बन्धी मुद्दा दर्ता भएका छन्।
अवसरसँगै बढ्दो सामाजिक चुनौती
वैदेशिक रोजगारीमार्फत नेपालका करिब ७८ प्रतिशत घरधुरीले विप्रेषण प्राप्त गरिरहेको भन्दै यसले शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरणमा सहयोग पुगेको दशरथचन्द नगरपालिकाका रोजगार शाखा प्रमुख नन्दराज जोशीले बताउनुभयो। तर, यससँगै सामाजिक र पारिवारिक चुनौती पनि बढ्दै गएको उहाँको भनाइ छ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। वैदेशिक रोजगारीले आर्थिक रूपमा सकारात्मक प्रभाव पारे पनि मनोसामाजिक समस्या, बालबालिका र ज्येष्ठ नागरिकमा एक्लोपन, खेतीयोग्य जमिन बाँझो रहनु तथा ग्रामीण र सहरी जनसंख्याबीच असमानता बढ्दै गएको जोशीले उल्लेख गर्नुभयो।


















Discussion about this post