सार्थक ब्यूरो ।नेपालमै सबैभन्दा सानो क्षेत्रफलमा बढी बाघ रहेको सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी पूरा गरिएको छ। बाघको वर्तमान संख्या र अवस्थाबारे अद्यावधिक तथ्याङ्क संकलन गर्ने उद्देश्यले राष्ट्रिय बाघ गणना अन्तर्गत यहाँ गणना हुन लागेको हो।
राष्ट्रिय बाघ गणना तीन वटा क्लस्टरमा विभाजन गरेर सञ्चालन गरिँदै आएको छ। तेस्रो क्लस्टर अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गरिने निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो। उहाँका अनुसार निकुञ्जको तर्फबाट आवश्यक सबै आन्तरिक तयारी सम्पन्न भइसकेको छ। विभागीय टोलीले यसअघि नै आएर अभिमुखीकरण कार्यक्रम समेत गरिसकेको उहाँले बताउनुभयो।
सन् २०२२ मा सम्पन्न राष्ट्रिय बाघ गणनामा शुक्लाफाँटामा ३६ वटा बाघ अभिलेख भएका थिए। तर, निकुञ्ज कार्यालयले गरेको पछिल्लो आन्तरिक अनुगमन अनुसार हाल ४३ वटा बाघ भेटिएका छन्। गत वर्ष क्यामरा ट्र्यापमा ४४ बाघ देखिएकामा यस वर्ष एउटा बाघ कम देखिएको निकुञ्ज कार्यालयको भनाइ छ। क्यामरामा नपर्नु वा प्राकृतिक मृत्युका कारण एउटा बाघ अभिलेखमा नआएको हुन सक्ने वाग्लेले बताउनुभयो। उहाँका अनुसार निकुञ्ज क्षेत्रमा हालसम्म दुई वटा बाघ प्राकृतिक कारणले मरेका छन्।
सानो क्षेत्रफल हुँदाहुँदै पनि शुक्लाफाँटामा बाघको संख्या धेरै रहेकाले व्यवस्थापन चुनौती हुन सक्ने देखिए पनि हालसम्म कुनै समस्या नरहेको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्ज क्षेत्रमा बाघका आहारा प्रजाति पर्याप्त मात्रामा उपलब्ध भएकाले मानव–बाघ द्वन्द्वको अवस्था न्यून रहेको बताइएको छ। शुक्लाफाँटामा प्रतिवर्ग किलोमिटरमा आहारा प्रजातिको घनत्व १४६ रहेको छ, जुन नेपालकै उच्चतम रहेको सूचना अधिकारी वाग्लेले जानकारी दिनुभयो।
उहाँका अनुसार एक बाघलाई साप्ताहिक रूपमा करिब ५० केजी मासु आवश्यक पर्छ र बाघले प्रायः हप्तामा एक पटक सिकार गर्ने गर्छ। मृग वर्गका जनावर बाघका प्रमुख आहारा हुन्। नेपालमा पाइने छ प्रकारका मृगमध्ये कस्तूरी मृगबाहेक जरायो, बाह्रसिङ्गा, चित्तल, रतुवा र लगुना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छन्। बाघ गणनासँगै आहारा प्रजातिको पनि गणना गरी घनत्व निर्धारण गरिने वाग्लेले बताउनुभयो।
सामान्यतया एउटा भाले बाघले ५० देखि ६० वर्ग किलोमिटर र पोथी बाघले २० देखि ३० वर्ग किलोमिटर क्षेत्र आफ्नो बासस्थान बनाउने गरेको जनाइएको छ। नेपालमा प्रत्येक चार वर्षमा एक पटक राष्ट्रिय बाघ गणना गरिँदै आएको छ। चितवन, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा गणना सम्पन्न भएपछि अन्तिम चरणमा शुक्लाफाँटामा गणना हुने राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार करिब दुई महिनापछि मात्रै शुक्लाफाँटामा बाघ गणना सुरु हुने सम्भावना छ।
बाघ गणनाका लागि प्रयोग गरिने स्वचालित क्यामरा उपकरणसहित निकुञ्जका दुई जना कर्मचारी हाल चितवनतर्फ खटिएका छन्। सन् २०२२ को तथ्याङ्क अनुसार नेपालमा ३५५ वटा बाघ रहेका छन्।


















Discussion about this post