प्रतिनिधिसभा निर्वाचन आउन ७५ दिन बाँकी, देशभर १० हजार ९६७ मतदानस्थल तोकियो

सार्थक डेस्क।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ । निर्वाचन आयोगले मतदातालाई सहज रूपमा मतदान गर्न सक्ने वातावरण बनाउन मतदानस्थलको पुनरावलोकन गर्दै नयाँ संख्या निर्धारण गरेको हो ।
आयोगका अनुसार यसअघि कायम रहेका १० हजार ८९२ मतदानस्थलमध्ये मतदातालाई अपायक पर्ने तथा प्रयोगमा नरहेका ९३ मतदानस्थल खारेज गरिएको छ भने आवश्यकताअनुसार १६८ नयाँ मतदानस्थल थपिएका छन् । यसरी पुनरसंरचना गर्दा मतदातालाई नजिक र सहज स्थानबाट मतदान गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
मतदानस्थल पुनरावलोकनका क्रममा केन्द्रको नाम र ठेगानामा देखिएका त्रुटि सच्याउने, केही मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा पूर्ण रूपमा स्थानान्तरण गर्ने तथा साविककै नजिकको अर्को मतदानस्थलमा समायोजन गरिएको छ । आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फत मतदानस्थल पुनरावलोकनबारे जानकारी गराउँदै मतदातालाई दाबी–विरोधको अवसर दिएको थियो । एउटै वडाभित्र आफूलाई सहज पर्ने अर्को मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ ।
यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत समावेशी समूहको प्रतिशत निर्धारणसम्बन्धी प्रक्रिया सहज भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ बमोजिम उक्त अध्यादेश जारी गर्नुभएको हो ।
सरकारले राष्ट्रिय जनगणना २०७८ का तथ्याङ्कअनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समुदायको जनसङ्ख्या प्रतिशतलाई आधार मानेर प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–१ संशोधन गर्न सिफारिस गरेको थियो । यसअघि उक्त अनुसूचीमा २०६८ सालको जनगणनाका आधारमा समावेशी समूहको प्रतिशत उल्लेख गरिएको थियो ।
अब प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेश गर्दा २०७८ को जनगणनाका आधारमा निर्धारण गरिएको समावेशी प्रतिशतअनुसार सूची पेस गर्नुपर्ने छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलले यही पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची आयोगमा बुझाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित