सार्थक ब्यूरो ।दार्चुलामा महाकाली नदीमाथि निर्माण भएको नेपाल–भारत जोड्ने मोटरेबल पुल सञ्चालनका लागि अन्तिम तयारी सुरु गरिएको छ। नेपालतर्फ महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ धारचुला तहसिलअन्तर्गत छारछुम क्षेत्रमा निर्माण गरिएको दुई लेनको उक्त पुलको लम्बाइ ११० मिटर रहेको छ।
दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी विनोद दाहालका अनुसार पुल सञ्चालनका लागि आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। नेपालतर्फको जग्गा अधिग्रहण सम्पन्न भइसकेको छ भने भन्सार, क्वारेन्टाइन, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि आवश्यक भवन निर्माण पूरा भएपछि पुल औपचारिक रूपमा सञ्चालनमा ल्याइने तयारी छ।
उक्त पुलको शिलान्यास आर्थिक वर्ष २०७९/८० को असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गर्नुभएको थियो।
पुल निर्माणमा संलग्न निर्माण व्यवसायीका प्रतिनिधि तथा इन्जिनियर सितेन्द्रपाल कोलीका अनुसार निर्माण कार्य सकिएको छ र हाल नेपालतर्फ पुलछेउमा पर्खाल निर्माण भइरहेको छ। सम्झौताअनुसार सन् २०२३ अक्टोबरभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि थप कामका कारण समय लम्बिएको उहाँले जानकारी दिनुभयो।
भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड (पञ्जाब) ले पुल निर्माणको जिम्मा लिएको थियो। करिब ३२ करोड ९८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो।
यसैबीच बिहीबार भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले पुल क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले पुलको निर्माण अवस्था, जग्गा व्यवस्थापन र सञ्चालन तयारीबारे जानकारी लिनुभएको निमित्त प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो। साथै सदरमुकाम खलङ्गाको सामुन्ने महाकाली नदीकिनारमा भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा पनि चासो व्यक्त गर्दै कूटनीतिक पहल गर्ने संकेत दिनुभएको जनाइएको छ।
दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशसिंह थापाका अनुसार पुल सञ्चालनमा आएपछि नेपाल–भारतबीचको व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानमा महत्वपूर्ण योगदान पुग्नेछ।
जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूले पुल सञ्चालनपछि दार्चुला, बैतडी, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट भारत र चीनसम्मको व्यापारिक आवागमन सहज हुने विश्वास व्यक्त गर्नुभएको छ।


















Discussion about this post