कञ्चनपुरमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण विषयक जिल्ला स्तरीय संवाद सम्पन्न

सार्थक ब्यूरो ।कञ्चनपुरमा प्राकृतिक स्रोतसम्बन्धी द्वन्द्व शान्तिपूर्ण रूपमा समाधान गर्ने उद्देश्यसहित जिल्ला स्तरीय संवाद तथा समन्वय बैठक आयोजना गरिएको छ। जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा समन्वय प्रमुख बोहराले जल, जमिन र जङ्गलसँग सम्बन्धित विवादहरू संवादमार्फत समाधान हुनु सकारात्मक भएको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताए। प्राकृतिक स्रोतको विवेकपूर्ण उपयोगमार्फत मानव र प्रकृतिबीचको सम्बन्धलाई दीगो बनाउन आवश्यक रहेकोमा उनले जोड दिए।
शुक्लाफाटा राष्ट्रिय निकुञ्जका सहायक वार्डेन विनय झाले मानव र वन्यजन्तुबीच प्रत्यक्ष द्वन्द्व सामना गर्नुपर्ने अवस्था बढ्दै गएको उल्लेख गरे। विकास र संरक्षण दुवै आवश्यक रहेको बताउँदै उनले व्यवहारमा परिवर्तन ल्याउन सके द्वन्द्व न्यूनीकरण सम्भव हुने धारणा व्यक्त गरे।
त्यस्तै, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले प्रकृति संरक्षणलाई ध्यानमा राखेर प्राकृतिक स्रोतको प्रयोग गर्नुपर्ने बताए।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालद्वारा आयोजित कार्यक्रमको अध्यक्षता केन्द्रकी जिल्ला संयोजक लक्ष्मी साउदले गरेकी थिइन्। कार्यक्रममा केन्द्रका सहजकर्ता धर्मानन्द पन्तले अभियानको उद्देश्य र गतिविधिबारे जानकारी गराए।
केन्द्रले हाल ४८ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको र तीमध्ये २१ जिल्लामा बहु–सरोकारवाला प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण अभियान अघि बढाइएको जानकारी दिइयो। सहजकर्ता पन्तका अनुसार ‘पहाड चढ्ने विधि’ प्रयोग गरी द्वन्द्व समाधान गरिन्छ, जसअन्तर्गत ‘माकुरा समूह’ बनाएर द्वन्द्वका पक्षहरूलाई खाटमा बसेर छलफल गराई समाधान खोज्ने गरिन्छ, जसलाई ‘खाट विधि’ नाम दिइएको छ।
कार्यक्रममा कञ्चनपुरमा यस विधिबाट समाधान गरिएका विभिन्न द्वन्द्वबारे जानकारी गराइएको थियो। बेलौरी नगरपालिकाको रामघाट सामुदायिक वन र मुक्त कमैयाबीचको जमिन खनजोत विवाद, शिवहरि सामुदायिक वन उपभोक्ता समूह, जनक त्रिवेणी महिला प्रस्तावित सामुदायिक वन उपभोक्ता समूह र स्थानीय क्लबबीचको विवाद तथा महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणसँग सम्बन्धित जग्गा विवाद समाधान भएका उदाहरण प्रस्तुत गरिएका थिए।
यस्तै, लालझाडी गाउँपालिका–४ का कञ्चन र नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहबीचको बाटो निकास विवाद, बेलौरी नगरपालिका–५ सीतानगर र पुष्पलाल स्मृति सामुदायिक वन उपभोक्ता समूहबीचको बाटो विवाद तथा लालझाडीस्थित जयभोले सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित विवाद पनि समाधान भएको जनाइएको छ।
सहजकर्ता पन्तले लामो समयदेखि कायम द्वन्द्व समाधान भएपछि स्थानीयहरूबीच सहकार्य र सहअस्तित्व सहज बनेको बताए।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख रामकुमारी राना, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया राना, शुक्लाफाँटा नगरपालिकाकी उपप्रमुख कल्पना पन्त, कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती राना तथा दोधारा–चाँदनी नगरपालिकाकी उपप्रमुख गङ्गा जैशीलगायतको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित