लौकहीबजारमा तनावः सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु, प्रदर्शन चर्कियो

सार्थक ब्यूरो । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीबजार क्षेत्र तनावग्रस्त बनेको छ । सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीय बासिन्दा आक्रोशित बनेर सडक प्रदर्शनमा उत्रिएका हुन् ।
घटना बिहीबार बिहान करिब १ः१० बजे कोसी–१ को पुरी टोलमा भएको हो । तस्करी नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरी टोलीले गोली चलाउँदा सोही वडाका स्थायी बासिन्दा साहको ज्यान गएको जनाइएको छ ।
घटनापछि आक्रोशित भीडले सशस्त्र प्रहरीको बिटमा आगजनी गरेको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायरसमेत गरेको जनाइएको छ । सुरक्षाकर्मीका अनुसार रातिको समयमा सिटी सफारीमार्फत तस्करीको सामान ल्याइँदै गरेको आशंकामा रोक्न खोज्दा प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली चलाउनुपरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले गोली लागेर साहको मृत्यु भएको पुष्टि गर्नुभएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
मृत्युको विरोधमा स्थानीयवासीले शव उठाउन अवरोध गरेका छन् । उनीहरूले सडकमा टायर बालेर प्रदर्शन जारी राखेका छन् । यसैबीच, घटनाको समाधानका लागि प्रशासनले स्थानीय प्रतिनिधिसँग प्रारम्भिक छलफल सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित