भादा गाउँमा १३औँ थारु होमस्टे महोत्सव प्रारम्भ

सार्थक ब्यूरो ।कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित पर्यटकीय क्षेत्र भादा गाउँमा १३औँ संस्करणको थारु होमस्टे महोत्सव २०८२ सुरु भएको छ। महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गरेका हुन्।
उद्घाटन समारोहका क्रममा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै कैलाली हस्पिटल प्रा.लि.का ल्याप्रोस्कोपिक सर्जन डा. विवेक जोशीलाई सम्मान गरिएको छ। मन्त्री खड्काले प्रमाणपत्र प्रदान गर्दै डा. जोशीले आधुनिक शल्यक्रिया सेवामार्फत सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय उपचार उपलब्ध गराउँदै आएको उल्लेख गरे। निजी क्षेत्रबाट स्वास्थ्य सेवामा भएको योगदान राज्यका लागि महत्वपूर्ण रहेको उनले बताए।
थारु होमस्टे भादा गाउँका अध्यक्ष लक्ष्मीनारायण चौधरीले सामाजिक उत्तरदायित्वको भावनाअन्तर्गत डा. जोशीलाई सम्मान गरिएको जानकारी दिए। स्थानीय समुदायको स्वास्थ्य सचेतना वृद्धि र सहज उपचार सेवामा उनको भूमिकालाई कदर गर्दै सम्मान गरिएको उनले स्पष्ट पारे।
कार्यक्रममा प्रदेशसभा उपसभामुख कोइलीदेवी चौधरी, प्रदेशसभा सदस्य डम्मरी महरा लगायत जनप्रतिनिधि, सामाजिक अगुवा, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
थारु समुदायको मौलिक संस्कृति, परम्परा, खानपान र आतिथ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। महोत्सव अवधिभर सांस्कृतिक झाँकी, थारु नृत्य, स्थानीय परिकार र हस्तकलाका सामग्रीको प्रदर्शनी समेत सञ्चालन गरिएको आयोजकले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित