शुक्लाफाँटामा विपन्न परिवारका ३०६ बालबालिकालाई न्यानो सामग्री सहयोग

सार्थक ब्यूरो ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अति विपन्न परिवारमा रहेका ३०६ जना बालबालिकालाई जाडो मौसमबाट सुरक्षित राख्न न्यानो लुगासहित आवश्यक सामग्री वितरण गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यालयको सिफारिसमा ‘सेभ द चिल्ड्रेन’ सुर्खेतको सहयोगमा नगरपालिकाका विभिन्न वडामा अध्ययनरत लक्षित बालबालिकालाई उक्त सामग्री उपलब्ध गराइएको हो । नगरपालिकाका १२ वडामध्ये आठ वटा वडाबाट छनोट गरिएका अति विपन्न बालबालिकालाई उनीहरू अध्ययनरत विद्यालयमै पुगेर सामग्री हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
बालबालिकालाई जाडोबाट जोगाउन १६ प्रकारका न्यानो सामग्री वितरण गरिएको छ । जसमा ज्याकेट, स्वेटर, ट्राउजर, थर्मस, झोला, टोपी, स्कार्फ, पञ्जा, मोजा, गलबन्दी र भेस्टलगायत सामग्री समावेश छन् । प्रत्येक बालबालिकालाई करिब ६ हजार ६ सय रुपैयाँ बराबरको सहयोग सामग्री प्रदान गरिएको हो ।
नगर उपप्रमुख कल्पना पन्तका अनुसार वडा नं १ मा ४०, वडा नं २ मा २७, वडा नं ३ मा ४०, वडा नं ५ मा ११, वडा नं ६ मा ३०, वडा नं ७ मा ४०, वडा नं ११ मा ७४ र वडा नं १२ मा ४० जना बालबालिकालाई विद्यालयमै पुगेर न्यानो सामग्री वितरण गरिएको छ ।
सामग्री वितरण कार्यक्रममा उपप्रमुख पन्तले नगरपालिकाले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै विपन्न बालबालिकालाई लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । बढ्दो चिसो र शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न यो सहयोग प्रभावकारी हुने उनले उल्लेख गरिन् ।
कार्यक्रममा वडा नं ११ का अध्यक्ष शेरबहादुर साउँदले यस्ता सहयोगले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न बालबालिकाको विद्यालय उपस्थितिलाई निरन्तरता दिन सहयोग पुग्ने बताए । वडा नं ५ का अध्यक्ष चक्रबहादुर खड्काले शारीरिक अपाङ्गता भएका तथा विशेष कक्षामा अध्ययनरत बालबालिकाका लागि यो सहयोग अत्यन्त उपयोगी भएको धारणा राखे ।
यसैगरी, सिद्धभीम आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले चिसोका कारण विद्यार्थी अनियमित हुने र विद्यालय छाड्ने समस्या न्यूनीकरण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज भट्टले दलित, जनजाति तथा विपन्न समुदायका बालबालिकाको शैक्षिक निरन्तरतामा यस सहयोगले सकारात्मक प्रभाव पार्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित