पार्टी एकता जोगाउन अन्तिम प्रयासमा छु : डा. शेखर कोइराला

सार्थक ब्यूरो ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवादका बीच कुनै पनि परिस्थितिमा पार्टी विभाजन हुन नदिने स्पष्ट अडान व्यक्त गरेका छन्।
आफूनिकट केन्द्रीय सदस्य, जिल्ला सभापति तथा वरिष्ठ कानुन व्यवसायीहरूसँग भएको छलफलमा डा. कोइरालाले कांग्रेसको एकता जोगाउन आफू अन्तिम तहसम्म प्रयासरत रहेको बताए। पार्टी फुट्न नदिन कठोर निर्णय लिनुपरे पनि पछि नहट्ने संकेत गर्दै उनले पार्टी एकतामाथि कुनै सम्झौता नहुने बताए।
उनका अनुसार पार्टीलाई विभाजनको दिशातर्फ जान नदिन सभापति, कार्यवाहक सभापति र महामन्त्रीहरूसँग निरन्तर संवाद भइरहेको छ। छलफलका क्रममा उनले सहभागीहरूलाई पार्टी फुट्ने अवस्था नआउने विश्वास दिलाएका थिए।
छलफलमा सहभागी वरिष्ठ कानुन व्यवसायीहरूले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन आह्वान गर्ने अधिकार केन्द्रीय कार्य समितिसँग मात्र रहेको प्रस्ट पारे। उनीहरूले महामन्त्रीहरूको पहलमा बोलाइएको भनिएको विशेष महाधिवेशन वैधानिक नभएको र त्यसबाट नेतृत्व परिवर्तन सम्भव नहुने निष्कर्ष निकाले।
छलफलमा सहभागी नेताहरू र कार्यकर्ताहरूले पार्टीलाई विभाजनबाट जोगाउन डा. कोइरालाले दुवै पक्षबीच समन्वय र सहजीकरणको भूमिका अझ सक्रिय रूपमा निर्वाह गर्न आग्रह गरेका थिए।
उक्त छलफलमा कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य बलबहादुर केसी र मिनेन्द्र रिजाल तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी र उपेन्द्रकेशरी न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित