कञ्चनपुरमा लामो समयदेखि अलपत्र परेका चार वटा पुलको निर्माण कार्य आठ वर्षपछि सम्पन्न

सार्थक ब्यूरो ।कञ्चनपुरमा लामो समयदेखि अलपत्र परेका चार वटा पुलको निर्माण कार्य आठ वर्षपछि सम्पन्न भएको छ। पटक–पटक म्याद थप हुँदा पनि तोकिएको समयमा काम नसकिएका ती पुल हालै पूरा भएका सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।
डिभिजन कार्यालयका प्रमुख राजेश कुमार यादवका अनुसार समयमै काम नगरेका कारण तीनदेखि पाँच पटकसम्म म्याद थपिएका चार वटै पुल अन्ततः निर्माण सम्पन्न भएका हुन्। कृष्णपुर नगरपालिकास्थित ओदाल खोलामाथि निर्माण गरिएको पुल सम्पन्न भई सवारी आवागमनसमेत सुरु भइसकेको छ। उक्त पुल निर्माणका लागि विसं २०७३ भदौ १७ मा १८ महिनाभित्र सम्पन्न गर्ने गरी थेगिम गाल्भा जेभीसँग पाँच करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
निर्माण व्यवसायीले म्याद थपको अवधिमा समेत काम नगरेपछि १० प्रतिशत हर्जाना असुल गरेर यसपटक पुल निर्माण सकाइएको डिभिजन प्रमुख यादवले बताए। उनका अनुसार वर्षौँदेखि अधुरो अवस्थामा रहेका कञ्चनपुरका चार वटै पुल अहिले सञ्चालनको चरणमा पुगेका छन्।
यसैगरी कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको भुलीपर्सिया क्षेत्र जोड्ने दोदा नदीको पुल पनि सम्झौताको करिब नौ वर्षपछि निर्माण सम्पन्न भएको छ। उक्त पुल निर्माणका लागि विसं २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड ५२ लाख रुपैयाँमा सम्झौता गरिएको थियो। सम्झौता अनुसार विसं २०७५ पुसभित्र काम सकिनुपर्ने भए पनि ढिलाइका कारण नौ वर्षपछि मात्र निर्माण पूरा भएको हो।
डिभिजन प्रमुख यादवका अनुसार पुलको फाउण्डेशनमा समस्या देखिएपछि निर्माणमा ढिलाइ भएको थियो। हाल पुलको परीक्षण कार्य भइरहेको र दुई–तीन दिनभित्र सबै प्रक्रिया पूरा हुने जानकारी उनले दिए।
त्यस्तै बेदकोट नगरपालिका–७ स्थित मुसेपानी खोलामाथि निर्माण गरिएको पुलको हकमा पनि पाँच पटकसम्म म्याद थपिएको थियो। विसं २०७४ जेठमा तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी राजेन्द्र–लुम्बिनी जेभीसँग १३ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। समयमै काम नगर्ने निर्माण व्यवसायीबाट हर्जाना असुल गर्दै पुल निर्माण सम्पन्न गरिएको यादवले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित