सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । नौ जिल्लाका १६ निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २१० जनाको उम्मेदवारी दर्ता हुनु केवल संख्यात्मक तथ्य मात्र होइन, यो प्रदेशको बदलिँदो राजनीतिक मनोविज्ञान र असन्तोषको प्रतिबिम्ब पनि हो ।
१६ सिटका लागि २१० उम्मेदवार हुनु एकातिर बहुदलीय लोकतन्त्रको सक्रियता देखिए पनि अर्कोतर्फ मुख्यधारका दलप्रति बढ्दो असन्तोषको संकेत हो । कैलालीमा मात्र ७८ र कञ्चनपुरमा ५५ उम्मेदवार हुनु मतदाताले विकल्प खोजिरहेको स्पष्ट प्रमाण हो । राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, विभिन्न साना दल र स्वतन्त्र उम्मेदवारहरूको उल्लेखनीय उपस्थिति परम्परागत दलहरूप्रति मतदाताको भरोसा खस्कँदै गएको संकेत मान्न सकिन्छ ।
डडेलधुराबाट सात पटक निर्वाचित शेरबहादुर देउवाको उम्मेदवारी नहुनु सुदूरपश्चिमको निर्वाचन राजनीतिमा ठूलो मनोवैज्ञानिक मोड हो । देउवाको अनुपस्थितिले कांग्रेसभित्र नेतृत्वको संक्रमण र शक्ति पुनर्संरचनाको संकेत गरेको छ । यही खाली ठाउँमा भीमबहादुर रावल, लेखराज भट्ट, एनपी साउद, बिना मगर, गणेश ठगुन्ना जस्ता प्रभावशाली नेताहरूले आफ्नो राजनीतिक प्रभाव विस्तार गर्ने प्रयास गरिरहेका छन् ।
कैलाली, कञ्चनपुर र अछाममा नाचगान, बाजागाजा र शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता हुनु निर्वाचन संस्कृतिको अर्को पाटो हो । जेनजीको आन्दोलनपछि पहिलो आमनिर्वाचन भएकाले युवा मतदातालाई आकर्षित गर्ने प्रयास देखिन्छ । आफू “जेनजीको उम्मेदवार” भएको दाबी गर्नु र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले “परिवर्तन”लाई मुख्य नारा बनाउनु यही मनोविज्ञानसँग जोडिएको छ । तर नारा र उत्सवले मात्र होइन, विगतको कार्यसम्पादन र विश्वसनीयताले मत निर्धारण गर्ने यथार्थ पनि उत्तिकै बलियो छ ।
धेरै उम्मेदवारहरू दल परिवर्तन गर्दै नयाँ चिनारीसहित मैदानमा उत्रिनु सुदूरपश्चिमको अर्को विशेषता बनेको छ । कांग्रेस, एमाले, माओवादी हुँदै नयाँ कम्युनिस्ट पार्टी, नागरिक उन्मुक्ति पार्टी हुँदै अन्य दल—यी सबै रूपान्तरणले राजनीतिक नैतिकता र सिद्धान्तप्रतिको प्रश्न उठाएको छ । मतदाताका लागि चुनौती यही हो : नाम र झण्डा बदलिएको हो कि सोच र कार्यशैली पनि?
यस पटकको निर्वाचन सुदूरपश्चिमका लागि सामान्य प्रतिस्पर्धा मात्र होइन । यो पुराना शक्ति संरचनाको निरन्तरता कि नयाँ राजनीतिक संस्कृतिको सुरुवात भन्ने प्रश्नको उत्तर खोज्ने प्रक्रिया हो । अत्यधिक उम्मेदवारी, नयाँ दलहरूको उदय, पुराना नेताको पुनरागमन र युवाको सक्रियताले निर्वाचनलाई रोचक मात्र होइन, निर्णायक बनाएको छ ।
अब बल मतदाताको हातमा छ । भीडभाडको उम्मेदवारीभित्रबाट भरोसायोग्य नेतृत्व छान्ने जिम्मेवारी जनताकै काँधमा आएको छ । सुदूरपश्चिमको मतादेशले केवल १६ सांसद होइन, प्रदेशको राजनीतिक दिशा पनि तय गर्नेछ ।


















Discussion about this post