ओली भर्सेस बालेन : झापा–५ मा चुनाव होइन, युगको टक्कर

सार्थक डेस्क।चुनाव देशभरि १६५ निर्वाचन क्षेत्रमा हुँदैछ । तर नेपालका आँखाहरू झापा–५ मा अडिएका छन् । कारण सिधा छ,यहाँ दुई उम्मेदवारबीच प्रतिस्पर्धा छैन, दुई युग ठोक्किन लागेको छ ।
एकातिर छन्, तीन दशकदेखि सत्ता र संरचनाको प्रतीक बनेका केपी शर्मा ओली । अर्कोतिर छन्, प्रणालीमाथि प्रश्न उठाएर उदाएका बालेन शाह। यो भिडन्त सांसद बन्ने दौडभन्दा धेरै माथि छ । यो पुरानो नेतृत्वको वैधता र नयाँ पुस्ताको विद्रोहबीचको फैसला हो ।
ओली झापा–५ का रैथाने राजनीतिक शक्ति हुन् । २०४८ सालदेखि यही क्षेत्रबाट चुनाव लड्दै आएका, पटक–पटक प्रधानमन्त्री बनेका, संगठन, इतिहास र राज्य संयन्त्रको अनुभव बोकेका नेता । उनको जित सामान्य मानिन्छ, किनकि झापा एमालेको आधारभूमि हो । २०७९ मा देशभरकै सबैभन्दा धेरै मत ल्याएर जित्नु ओलीको व्यक्तिगत राजनीतिक हैसियतको प्रमाण हो ।तर बालेनको उपस्थितिले यो “सामान्य” चुनावलाई असामान्य बनाइदिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई भावी प्रधानमन्त्री घोषणा गरिसकेको छ । त्यो घोषणा आफैंमा राजनीतिक आत्मविश्वासको चरम अभिव्यक्ति हो । बालेन झापा–५ रोज्नु संयोग होइन । उनले सजिलो क्षेत्र खोजेनन् । उनले सिधै पुरानो राजनीतिका सबैभन्दा ठूला प्रतीकमाथि प्रहार गर्ने जोखिम लिए ।
यसको अर्थ स्पष्ट छ,बालेन केवल सांसद बन्न चाहँदैनन् । उनी पुरानो पुस्ताको राजनीतिक विरासतलाई नै चुनौती दिन चाहन्छन् । जेन–जी पुस्ताले मनमनै बोकेको “सबै पुराना हटून्” भन्ने भावनाको प्रतिनिधित्व यही हो । त्यसका लागि सबैभन्दा बलियो टाउकामा हिर्काउनुपर्छ भन्ने उनको बुझाइ हो ।
यदि बालेनले जिते, त्यो केवल जित हुँदैन, राजनीतिक चक्मा हुन्छ । यदि ओलीले जिते, त्यो उनको राजनीतिक निरन्तरताको पुष्टि हुनेछ । त्यसैले यो चुनाव बराबरीको खेल होइन । दाउ–पेच नै फरक छ ।
वामपन्थी राजनीतिले सधैं संगठनलाई निर्णायक मानेको छ । झापामा संगठन ओलीसँग छ, बालेनसँग छैन । तर समय फेरिएको छ । अब चुनाव पार्टी कार्यालयमा होइन, मतदाताको मनमा लडिन्छ । २०७९ मा ओलीलाई मत दिएका धेरै मतदाताले समानुपातिकमा रास्वपालाई भोट हालेका थिए । यही द्वन्द्वको निरन्तरता हो यो ।
जेन–जी आन्दोलनअघि पनि ओली र बालेन नै पुरानो, नयाँको प्रतीक बनेका थिए । आन्दोलनपछि बालेन प्रधानमन्त्री बनून् भन्ने दबाब उठ्यो । उनी बनेनन् । अब त्यो असन्तोष चुनावी मैदानमा रूपान्तरण भएको छ । ओलीलाई हराउनु व्यक्तिगत जित होइन, नेताकेन्द्रित र दलतन्त्रको मियो ढाल्नु हो भन्ने सन्देश बालेन दिन खोजिरहेका छन् ।
तर बालेन पनि अब रहस्यमय पात्र मात्रै छैनन् । काठमाडौं महानगरको मेयरका रूपमा बिताएको कार्यकाल, उनको शैली, उनको आक्रोश, उनका निर्णय ,सबै मतदाताको मूल्याङ्कनमा छन् । सामाजिक सञ्जालको तिलस्म अब पर्याप्त नहुन सक्छ । समर्थक धकेलेको दृश्य, विध्वंससम्बन्धी आरोप, दम्भी व्यवहारका प्रश्न , यी सबै उनले बोकेरै झापामा उत्रिएका छन् ।
ओलीका लागि यो चुनाव लोकप्रियतावादी गालीको राजनीतिविरुद्धको लडाइँ हो । उनी अझै पनि आफूले झापाका लागि गरेको काम, अनुभव र स्थायित्व नै निर्णायक ठान्छन् । समर्थक उनका अडानलाई दृढता भन्छन्, आलोचक दम्भ । बालेनले यही दम्भलाई चुनौती दिएका हुन् ।
इतिहासले देखाएको छ, पूर्वप्रधानमन्त्रीहरू हारेका छन् । माधव नेपाल, कृष्ण सिटौला, पुष्पलाल, केआई सिंह, सूर्यबहादुर थापा,सबै कहिल्यै अजेय थिएनन् । २०४८ मा मदन भण्डारीले “हार्छ” भनिएका बेला चक्मा दिएका थिए । त्यसैले झापा–५ को नतिजा पहिल्यै लेख्नु मूर्खता हो ।
एक मात्र कुरा निश्चित छ,यो चुनाव व्यक्तिको होइन, राजनीतिक संस्कृतिको फैसला हो ।पुरानो शैलीले अझै जनविश्वास पाउँछ कि नयाँ पुस्ताको आक्रोशले इतिहास मोड्छ, त्यसको उत्तर झापा–५ का मतदाताले दिनेछन् र त्यो उत्तरलाई हल्का ठान्नु, वा मतदाताको विवेकलाई अपमान गर्नु,त्यसभन्दा ठूलो राजनीतिक भूल अरू केही हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित