सार्थक ब्यूरो ।लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई आफ्नै संख्यात्मक उपस्थिति देखाउने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार यो निर्वाचन समुदायको राजनीतिक अस्तित्व र आवाज सार्वजनिक रूपमा प्रकट गर्ने माध्यम बन्न सक्छ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अभियन्ता तथा पूर्व संविधानसभा सदस्य सुनिल बाबु पन्तले लामो समयदेखि अदृश्य रहँदै आएको समुदायका लागि अब शक्ति प्रदर्शन गर्ने समय आएको बताए। २०६४ सालको संविधानसभामा निर्वाचित भई संसद् पुगेका पन्तपछि पुनः उक्त समुदायबाट प्रतिनिधि संसद् पुर्याउने अभियानमा आफू सक्रिय रहेको उनले स्पष्ट पारे।
समावेशी समाजवादी पार्टीबाट तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु ‘चञ्चला’ नेतृत्वको चुनावी अभियानमा पन्तको प्रत्यक्ष साथ, नैतिक समर्थन र सक्रिय सहयोग रहेको चञ्चलाले जानकारी दिइन्। पन्तले आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर गोप्य मतदानमार्फत समावेशी समाजवादी पार्टीलाई मत दिन समुदायसँग अपिल गरे।
औपचारिक जनगणनामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको यथार्थ तथ्याङ्क नआएको उल्लेख गर्दै पन्तले भने, “यो निर्वाचन नै हामी कति छौँ भन्ने देखाउने एक प्रकारको गणना हो। हाम्रो उपस्थिति देखाउने अवसर यही हो।” अझै खुल्न नसकेका समुदायका सदस्यलाई गोप्य मतदानको प्रयोग गर्दै मताधिकार प्रयोग गर्न उनले अनुरोध गरे।
उनका अनुसार संसद्मा प्रतिनिधित्व नहुँदा समुदायका मुद्दा प्राथमिकतामा पर्न सकेका छैनन्। विविधता नै लोकतन्त्रको सुन्दरता भएको उल्लेख गर्दै उनले सबै दललाई प्रत्यक्ष उम्मेदवारका पक्षमा मतदातालाई अपिल गर्न आग्रह गरे। उम्मेदवारी फिर्ता लिने समय सकिए पनि समर्थन जनाउन सकिने विकल्प अझै खुला रहेको उनको भनाइ थियो।
समावेशी समाजवादी पार्टीकी अध्यक्ष नुमा लिम्बु चञ्चलाले राज्य र राजनीतिबाट दशकौँदेखि उपेक्षित समुदायको प्रतिनिधित्वका लागि नयाँ र पुराना सबै दलका शीर्ष नेतृत्वसँग समर्थनको आग्रह गरिएको जानकारी दिइन्। एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि विभिन्न प्रमुख राजनीतिक व्यक्तित्वहरूसँग भेटघाट र संवाद भइसकेको उनको भनाइ छ।
संसद्मा महिला र पुरुषका विषय मात्र केन्द्रमा रहँदै आएको अवस्थामा सीमान्तकृत समुदायका प्रतिनिधिले खुलेर आफ्ना कुरा राख्न सक्ने चञ्चलाको विश्वास छ। “आफैँ संसद् पुग्न सकेपछि आफ्ना मुद्दाका लागि अरूलाई गुहार्नुपर्ने अवस्था अन्त्य हुन्छ,” उनले भनिन्।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ का प्रत्यक्ष उम्मेदवार देवेन्द्रबहादुर खत्री ‘मधु’ले शासक वर्गले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई भोट र करका लागि मात्र प्रयोग गर्दै आएको आरोप लगाए। समयमै आफ्ना मुद्दा उठाउन नसके भविष्य झनै असुरक्षित हुने चेतावनी उनले दिए।
समावेशी समाजवादी पार्टीले विभिन्न जिल्लाबाट प्रत्यक्ष उम्मेदवार उठाएको छ। मोरङ निर्वाचन क्षेत्र नम्बर–४ बाट नुमा लिम्बु ‘चञ्चला’, रुपन्देही–२ बाट देवेन्द्रबहादुर खत्री ‘मधु’ उम्मेदवार छन्। काठमाडौँ–१ बाट पहिलो समलिङ्गी विवाह दर्ता गराउन सफल सुरेन्द्र पाण्डे, काठमाडौँ–१० बाट लोकदोहोरी गायक पूर्णचन्द्र पौडेल, ओखलढुङ्गाबाट ‘अन्य’ पहिचानमा पिंकी राई तथा काभ्रेपलान्चोक–१ बाट विनोद लामा ‘कोनिका’ उम्मेदवार रहेका छन्।पार्टीले समानुपातिकतर्फ १५ जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको जनाएको छ।


















Discussion about this post