विचार, निष्ठा र जनसेवाको राजनीति : चन्द्र बहादुर गुरुङको समावेशी बाटो

प्रदिपकुमार राना र पहिचान मिडिया

चन्द्र बहादुर गुरुङ नेपाली राजनीतिक क्षेत्रका सचेत र कर्मशील व्यक्तित्वमध्ये पर्छन्, जसले समावेशी समाजवादको विचारलाई केवल सैद्धान्तिक बहसमा सीमित नराखी व्यवहारिक राजनीतिमा आत्मसात् गरेका छन्।
सामाजिक न्याय, समानता र उत्पीडित तथा सीमान्तकृत वर्गको हक–अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएका गुरुङको राजनीतिक यात्रा विचार, निष्ठा र जनसेवामा आधारित छ।
उनी समावेशी समाजवादी पार्टीसँग आबद्ध रहँदै जाति, वर्ग, लिङ्ग, क्षेत्र र समुदायका आधारमा हुने विभेद अन्त्य गर्ने तथा सबै नागरिकलाई समान अवसर सुनिश्चित गर्ने राजनीतिक एजेन्डामा सक्रिय छन्। गुरुङको दृढ विश्वास छ-साँचो लोकतन्त्र तब मात्र सम्भव हुन्छ, जब राज्यका नीति, संरचना र निर्णय प्रक्रियामा सबै वर्ग र समुदायको समान सहभागिता सुनिश्चित हुन्छ।
उनको राजनीतिक सोच केवल आदर्श वा नारामा सीमित छैन। शिक्षा, स्वास्थ्य, रोजगारी, किसान–श्रमिकको अधिकार, युवा सशक्तीकरण र सुशासन जस्ता विषयलाई उनले व्यवहारिक समाज परिवर्तनको आधार मानेका छन्। विशेषगरी ग्रामीण तथा पिछडिएका समुदायको जीवनस्तर उकास्न राज्यले सक्रिय, उत्तरदायी र परिणाममुखी भूमिका खेल्नुपर्छ भन्ने धारणा उनको स्पष्ट छ।
पुरातन सोच र व्यक्तिवादी राजनीतिभन्दा माथि उठेर नयाँ राजनीतिक संस्कारको निर्माण गर्ने पक्षमा रहेका गुरुङ विचार, निष्ठा र सेवामुखी राजनीतिका पक्षधर हुन्। उनी जस्ता राजनीतिक व्यक्तित्वहरूले नेपाली राजनीतिमा आशा, विश्वास र वैकल्पिक राजनीतिक मार्गको सङ्केत गर्छन्।
चितवनको पार्वतीपुरमा जन्मिएका गुरुङको हुर्काइ नवलपुरको कावासोतीमा भएको हो। हाल उनको बसोबास काठमाडौँमा छ। पेसागत रूपमा उनी मेकअप आर्टिस्ट हुन्। फिल्मी क्षेत्र, फेसन शो, ब्युटी प्याजेन्ट तथा म्युजिक भिडियोमा उनले लामो समयदेखि मेकअप आर्टिस्टका रूपमा काम गर्दै आएका छन्। काठमाडौँको लाजिम्पाटमा उनको आफ्नै मेकअप स्टुडियो सञ्चालनमा छ।
सामाजिक सेवामा करिब दुई दशकको अनुभव बोकेका गुरुङ इन्टरनेशनल लायन्स क्लब अफ काठमाडौँ प्राइड रेन्बोका निवर्तमान अध्यक्षसमेत रहिसकेका छन्। रक्तदान, वृद्धाश्रम तथा अनाथ र अशक्त व्यक्तिहरूको सेवामा उनी निरन्तर समय र श्रम दिँदै आएका छन्।
हाल उनी ‘मायाको पहिचान नेपाल’को केन्द्रीय कार्यसमिति सदस्य तथा समावेशी समाजवादी पार्टीका केन्द्रीय सदस्य छन्। फागुन २१ गते हुने निर्वाचनमा उनी समानुपातिक उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।
मनोरञ्जन क्षेत्रभित्र कलाकार, मेकअप आर्टिस्ट र प्राविधिकहरूकै बीचमा भइरहेका विभेद अन्त्य गर्ने उनको प्रमुख उद्देश्य हो। मनोरञ्जन उद्योगभित्र हुने असमान व्यवहारविरुद्ध आवाज उठाउँदै सबैको अधिकार सुनिश्चित हुने व्यवस्था निर्माणका लागि सरकारसम्म स्पष्ट माग पुर्‍याउने सङ्कल्पसहित उनी फागुन २१ को निर्वाचनमा होमिएका छन्। समावेशी समाजवादको अभ्यासमार्फत संसद्सम्म पुग्ने उनको यात्राले नेपाली राजनीतिमा नयाँ बहस र सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित