छोरी जन्माउने अभिभावकलाई तीन हजार प्रोत्साहन भत्ता

सार्थक ब्यूरो।बेल्डाँडी गाउँपालिकाले छोरी जन्माउने अभिभावकलाई प्रोत्साहनस्वरूप तीन हजार रुपैयाँ भत्ता उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। लैङ्गिक विभेद अन्त्य गर्ने उद्देश्यसहित गाउँपालिकाले छोरी जन्माउने आमालाई लक्षित गर्दै उक्त प्रोत्साहन कार्यक्रम सञ्चालनमा ल्याएको हो।
गाउँपालिका उपाध्यक्ष शान्ती नाथका अनुसार पछिल्ला वर्षहरूमा लिङ्ग पहिचानका आधारमा गर्भपतन गर्ने प्रवृत्ति बढ्दै गएको अवस्थालाई नियन्त्रण गर्न यो कार्यक्रम सुरु गरिएको हो। आर्थिक वर्ष २०७९/८० देखि ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमअन्तर्गत छोरी जन्माउने आमालाई तीन हजार रुपैयाँ प्रोत्साहन भत्ता दिइँदै आएको उहाँले जानकारी दिनुभयो।
उपाध्यक्ष नाथले हालसम्म ३५३ जना आमाले छोरी जन्माएको आधारमा प्रोत्साहन भत्ता प्राप्त गरिसकेको बताउनुभयो। चालु आर्थिक वर्षमा मात्र ४० आमालाई प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले उक्त भत्ता वितरण गरिएको उहाँको भनाइ छ।
प्रोत्साहन भत्ता लिन विवाह दर्ता र बालिकाको जन्मदर्ता अनिवार्य गरिएकाले यसले बालविवाह न्यूनीकरणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसअघि गाउँपालिकाले सुत्केरी आमालाई पोषण सहयोगस्वरूप ५०० रुपैयाँ उपलब्ध गराउँदै आएको थियो।
‘उपाध्यक्ष कोसेली’ कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ भने जिल्ला सदरमुकाम वा बाहिर रिफर गर्नुपर्दा एम्बुलेन्स शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। यसबाट स्थानीय नागरिकले उल्लेखनीय राहत महसुस गरेको उपाध्यक्ष नाथले बताउनुभयो।
यसका साथै गाउँपालिकाले ३५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई एकल महिलासरह मासिक दुई हजार पाँच सय रुपैयाँ भत्ता दिने व्यवस्था गरेको छ। पालिकाभित्र रहेका तेस्रो लिङ्गी समुदायलाई मासिक भत्ता दिने प्रावधान लागू गरिएको छ भने टुहुरा बालबालिकालाई पोसाक भत्ता उपलब्ध गराउने कार्यविधि तयार गरी कार्यान्वयनको चरणमा रहेको उहाँले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित