निर्वाचन सुरक्षा सतर्कता अत्तरिया बसपार्कमा कुकुर प्रयोग गरी सघन जाँच

सार्थक ब्यूरो।आगामी प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै कैलालीको अत्तरिया बसपार्कमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ। निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश तथा इलाका प्रहरी कार्यालय मालाखेतीको समन्वयमा तालिमप्राप्त कुकुरको प्रयोग गरी बसहरूको सघन जाँच गरिएको हो।
प्रदेश प्रहरी कार्यालय धनगढीअन्तर्गत रहेको केनाइन शाखाबाट ल्याइएका तालिमप्राप्त कुकुरमार्फत लामो तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुबाहक बसहरूमा स्क्रिनिङ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मानिसले गर्ने सामान्य जाँचभन्दा कुकुरद्वारा गरिने खोजतलास बढी प्रभावकारी हुने भएकाले यो विधि अपनाइएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउने लक्ष्यसहित विस्फोटक पदार्थ तथा लागुऔषधको ओसारपसार नियन्त्रण गर्न यस्तो अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अत्तरिया बसपार्क हुँदै आवतजावत गर्ने सवारी साधनलाई लक्षित गरी हप्तामा कम्तीमा एक दिन र आवश्यकताअनुसार जुनसुकै समयमा पनि यो जाँच अभियान निरन्तर जारी रहनेछ।
आज गरिएको स्क्रिनिङका क्रममा एक दर्जनभन्दा बढी सवारी साधनको जाँच गरिएको भए पनि कुनै पनि शंकास्पद विस्फोटक वा लागुऔषधजन्य सामग्री फेला नपरेको प्रहरीले जनाएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा सतर्कता अझ मजबुत बनाइने प्रहरीले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित