सार्थक ब्यूरो।आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यसपटकको निर्वाचनलाई केवल व्यक्तिहरूको प्रतिस्पर्धा मात्र नभई राजनीतिक निरन्तरता बनाम परिवर्तनको रूपमा पनि हेरिएको छ। केही उम्मेदवार आफ्नो स्थापित राजनीतिक प्रभाव जोगाउने प्रयासमा छन् भने केही पुराना समीकरण तोड्ने रणनीतिसहित मतदातामाझ पुगिरहेका छन्।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार बैतडीमा मुख्य प्रतिस्पर्धा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादीबाट आएको नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूबीच केन्द्रित हुने देखिएको छ। उम्मेदवारहरूले विकास, सुशासन र जनअपेक्षा अनुसारको नेतृत्वलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्।
गत निर्वाचनमा ३३ हजार ६ सय ११ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका एमाले नेता दामोदर भण्डारी यसपटक चौथोपटक चुनावी मैदानमा छन्। २०७० सालको दोस्रो संविधानसभा र २०७४ तथा २०७९ को प्रतिनिधिसभा निर्वाचन जितिसकेका भण्डारी बैतडीको राजनीतिमा अनुभवी र प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनले एक पटक अर्थराज्यमन्त्री तथा तीन पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
भण्डारी आफ्नो राजनीतिक विरासत कायम राख्न चाहिरहेका बेला अन्य उम्मेदवारहरू त्यो प्रभाव तोड्ने लक्ष्यसहित अघि बढेका छन्। यसपटक नेपाली कांग्रेसले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दलाई उम्मेदवार बनाएको छ। चन्द र भण्डारीबीच पहिलोपटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धा हुन लागेको हो।
क्यानको नेतृत्व गर्दै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल चन्दलाई लोकप्रिय छविको नेताका रूपमा हेरिन्छ। २०४७ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका चन्द शिक्षक संघ बैतडीको अध्यक्ष हुँदै कांग्रेस जिल्ला सभापति बनेका हुन्। शिक्षण पेशाबाट राजीनामा दिएपछि उनी पूर्णकालीन राजनीतिमा सक्रिय छन्।
चन्दले जिल्लाको समग्र विकास, युवाका लागि अवसर सिर्जना र सुशासनलाई आफ्नो मुख्य प्रतिबद्धता बताएका छन्। धेरै वाचा गर्नेभन्दा काम गरेर देखाउने राजनीतिक संस्कार स्थापित गर्ने उनको भनाइ छ। क्यानमा देखाएको परिणाममुखी नेतृत्वलाई राजनीतिमा पनि लागू गर्ने दाबीका साथ उनी कांग्रेसको पुरानो साख पुनःस्थापित गर्ने रणनीतिमा छन्।
यसैगरी नेकपाले पूर्व जिल्ला सभापति परमानन्द भट्टलाई पहिलोपटक उम्मेदवार बनाएको छ। तत्कालीन एमालेका संस्थापक नेतामध्येका भट्ट एकीकृत समाजवादी हुँदै हाल नेकपाबाट प्रतिस्पर्धामा उत्रिएका हुन्। उनी पनि विकास निर्माण र सुशासनलाई प्राथमिक एजेन्डा बनाउँदै मतदातामाझ पुगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस परित्याग गरेका हरिमोहन भण्डारीलाई उम्मेदवार बनाएको छ। २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका भण्डारी यसपटक नयाँ राजनीतिक विकल्पको रूपमा मतदातासँग समर्थन मागिरहेका छन्। वैकल्पिक सोच र नयाँ भिजनसहित आफूहरू आएको उनको दाबी छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भूपेन्द्र चन्दसहित अन्य उम्मेदवारहरू पनि चुनावी मैदानमा भए तापनि संगठनात्मक आधार कमजोर भएकाले मुख्य प्रतिस्पर्धा चार दलबीच नै सीमित हुने नागरिक अगुवा र विश्लेषकहरूको बुझाइ छ।
स्थानीय मतदाताहरूका अनुसार यसपटक मतदाताले ठूला भाषण र आश्वासनभन्दा पनि व्यवहारिक, परिणाममुखी र जवाफदेही नेतृत्व खोजिरहेका छन्। त्यसैले बैतडीको यो चुनाव केवल जित–हारको प्रश्न नभई जिल्लाको भविष्य कुन दिशातर्फ जान्छ भन्ने निर्णायक क्षणका रूपमा हेरिएको छ।


















Discussion about this post