सार्थक ब्यूरो।सुदूरपश्चिम सधैं सम्भावनाले भरिएको भूगोल रह्यो, तर विकासका ठूला आयोजना भने अधुरै रहँदै आए। यही अधुरोपनलाई पूर्णतामा बदल्ने संकल्पसहित नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्ट फेरि मैदानमा उत्रिएका छन्। उनका अनुसार यो उम्मेदवारी व्यक्तिगत राजनीतिक यात्राको निरन्तरता होइन, सुदूरपश्चिमका अड्किएका विकास योजनालाई अन्तिम बिन्दुसम्म पुर्याउने जिम्मेवारी हो।
कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका उम्मेदवार भट्टले अत्तरियामा क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय उद्घाटनपछि स्पष्ट सन्देश दिए , सुदूरपश्चिमको लाइफलाइनसँग जोडिएका ठूला आयोजना अब कागजमै सीमित हुन हुँदैन। दैजी–छेला औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–खुटिया–दिपायल–उरै भञ्ज्याङ सडक, लालपुर–हरैया विशेष आर्थिक क्षेत्रजस्ता योजना सुदूरपश्चिमको भविष्यसँग जोडिएका आयोजना हुन्। यी आयोजना अघि बढे भने मात्र प्रदेश आत्मनिर्भर अर्थतन्त्रतर्फ जान सक्छ।
भट्ट स्वयम् मन्त्री हुँदा पहल गरिएका धेरै आयोजना अहिले सुस्त गतिमा छन्। यही यथार्थलाई स्वीकार्दै उनले ती योजनालाई पूर्णता दिन पुनः संसद् पुग्न आवश्यक रहेको तर्क अघि सारेका छन्। उनका अनुसार विकासको निरन्तरता नेतृत्वको निरन्तरतासँग जोडिएको हुन्छ।
सुदूरपश्चिमको आर्थिक–सामाजिक रुपान्तरणका लागि उत्तर–दक्षिण कनेक्टिभिटी अनिवार्य रहेको भट्टको धारणा छ। सडक सञ्जाल विस्तारमार्फत उत्तरमा उत्पादित कृषि तथा जडीबुटी दक्षिण पुर्याउने र दक्षिणका उद्योग तथा बजारका सुविधा उत्तरसम्म पुर्याउने संरचना बने मात्रै सुदूरपश्चिमको आर्थिक चक्र चलायमान हुने उनको भनाइ छ।
भट्टको दाबीमा यो उम्मेदवारी केवल कैलाली–४ का लागि मात्र होइन, समग्र सुदूरपश्चिम र राष्ट्रकै हितसँग जोडिएको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा एमाले एकताबद्ध रूपमा मैदानमा उत्रिने उनले स्पष्ट पारे। पार्टीभित्र कुनै मतभेद नभएको र तल्लो तहसम्म संगठन मजबुत भएकाले चुनावी परिणाम एमालेको पक्षमा आउने उनको दाबी छ।
सुदूरपश्चिम प्रदेशमा १२ सिट जित्ने लक्ष्यसहित एमालेले रणनीतिक रूपमा चुनावी अभियान अघि बढाइरहेको भट्टले बताए। अत्तरियामा सम्पन्न सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार हरिशङ्कर योगी, केन्द्रीय सदस्य सन्तोष शर्मा, राष्ट्रिय सभा सदस्य लीला भण्डारी, प्रदेशसभा सदस्य धर्मराज पाठक, एमाले प्रदेश उपसचिव भागरथी विष्टलगायत हजारौं नेता–कार्यकर्ताको उपस्थितिले पार्टीको शक्ति प्रदर्शन पनि देखाएको छ।
सम्पर्क कार्यालय स्थापनासँगै संगठन विस्तार, मतदाता समन्वय र प्रचार–प्रसारलाई थप व्यवस्थित बनाइने एमालेको तयारी छ। अब प्रश्न एउटै छ— अधुरा योजना पूरा गर्ने संकल्पले मतदाताको विश्वास जित्छ कि जित्दैन? सुदूरपश्चिमको विकास यात्रामा लेखराज भट्टको उम्मेदवारीलाई धेरैले यही प्रश्नको उत्तरको रूपमा हेरिरहेका छन्।


















Discussion about this post