सुदूरपश्चिममा प्रतिनिधिसभा निर्वाचन जनशक्ति व्यवस्थापनको तयारी तीव्र

सार्थक ब्यूरो।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशका निर्वाचन कार्यालयहरू जनशक्ति व्यवस्थापनको तयारीमा जुटेका छन्। प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण व्यवस्थापनसँगै जनशक्ति परिचालनको काम अघि बढाइएको छ।
प्रदेश निर्वाचन कार्यालयको तथ्यांकअनुसार निर्वाचनका दिन प्रदेशभर कुल १५ हजार ३९३ जना कर्मचारी खटाइने तयारी छ। कैलाली जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा उल्लेख्य संख्यामा जनशक्ति आवश्यक पर्ने देखिएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा ८८२, क्षेत्र नम्बर २ मा ८६८, क्षेत्र नम्बर ३ मा ८८९, क्षेत्र नम्बर ४ मा ९५२ र क्षेत्र नम्बर ५ मा ८९६ जना कर्मचारी खटाइने जनाइएको छ।
कञ्चनपुर जिल्लामा क्षेत्र नम्बर १ का लागि ८५४, क्षेत्र नम्बर २ का लागि ८६१ र क्षेत्र नम्बर ३ का लागि ८०५ जना कर्मचारी आवश्यक पर्नेछन्। अछामका निर्वाचन क्षेत्र नम्बर १ मा ७३५ र क्षेत्र नम्बर २ मा ७५६ जना जनशक्ति परिचालन गरिने छ।
यसैगरी अन्य पहाडी तथा हिमाली जिल्लामा पनि ठूलो संख्यामा कर्मचारी खटाउनुपर्ने देखिएको छ। डोटीमा एक हजार २६०, बाजुरामा ८२६, बझाङमा एक हजार ३२३, बैतडीमा एक हजार ४९८, दार्चुलामा एक हजार एक र डडेलधुरामा ९८७ जना कर्मचारी आवश्यक पर्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीको भर्ना तथा छनोट प्रक्रिया पूरा भइसकेको र उनीहरूको तालिमसमेत सुरु गरिएको भट्टले जानकारी दिनुभयो। साथै, निकट भविष्यमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने तयारी पनि भइरहेको उहाँले बताउनुभयो। मतदान स्थल व्यवस्थापन र मतदान केन्द्रको भौतिक तयारी भने पछिल्लो चरणमा अघि बढाइने जनाइएको छ।
प्रदेशभर हाल एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्र निर्धारण गरिएका छन्। कैलालीमा २३७ मतदान स्थल र ६४१ मतदान केन्द्र, कञ्चनपुरमा १२२ मतदान स्थल र ३६० मतदान केन्द्र रहेका छन्। अछाममा १३० मतदान स्थल र २१३ मतदान केन्द्र निर्धारण गरिएको छ।
त्यस्तै डोटीमा ११८ मतदान स्थल र १८० मतदान केन्द्र, बाजुरामा ७७ मतदान स्थल र ११८ मतदान केन्द्र, बझाङमा १३७ मतदान स्थल र १८९ मतदान केन्द्र, बैतडीमा १२९ मतदान स्थल र २१४ मतदान केन्द्र, दार्चुलामा ११२ मतदान स्थल र १४३ मतदान केन्द्र तथा डडेलधुरामा १०४ मतदान स्थल र १४१ मतदान केन्द्र रहेका छन्।
प्रदेश निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशभर कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। यसमध्ये आठ लाख ५२ हजार २१९ पुरुष र आठ लाख ६४ हजार ४२३ महिला मतदाता छन्।
निर्वाचन मिति नजिकिँदै जाँदा जनशक्ति, सुरक्षा, मतदाता शिक्षा र व्यवस्थापनका तयारी तीव्र बन्दै गएका छन्। निर्वाचन कार्यालयले मौसम, भौगोलिक अवस्था र सुरक्षाका चुनौतीलाई ध्यानमा राख्दै चरणबद्ध रूपमा तयारी अघि बढाइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित