सार्थक ब्यूरो। जेनजी २.० ले वर्तमान राजनीतिक संकटलाई साधारण सत्ता संघर्षको विषय नभई राज्यको वैधानिकता र जनताको सार्वभौमिक अधिकारसँग प्रत्यक्ष जोडिएको गम्भीर समस्या भएको ठहर गरेको छ।
आइतबार सार्वजनिक गरिएको धारणा पत्रमार्फत जेनजी २.० का प्रवक्ता अविन लिम्बुले संसद पुनःस्थापना गर्नुपर्ने अवस्था आए त्यसअघि जेनजी तथा आम नागरिकका स्पष्ट मागहरू औपचारिक रूपमा सम्बोधन हुने सहमती सर्त अनिवार्य हुनुपर्ने बताएका छन्।
उनले पुरानै प्रवृत्ति, अनुहार र सम्झौतामा आधारित संसद पुनःस्थापना स्वीकार्य नहुने स्पष्ट पार्दै माग सम्बोधनबिनाको कुनै पनि पुनःस्थापना प्रयासलाई जेनजी २।० ले अस्वीकार गर्ने चेतावनी दिए।
प्रवक्ता लिम्बुका अनुसार जनताको विश्वास पुनःस्थापित नगर्ने राजनीतिक निर्णयहरूले दीर्घकालीन समाधान दिन सक्दैनन्। विगतका अनुभवहरूले पनि पुराना अभ्यास र उही संरचनाले देशलाई निकास दिन नसकेको प्रमाणित गरिसकेको उनको भनाइ छ।
यदि सहमती सर्तसहित संसद पुनःस्थापना सम्भव नहुने अवस्था आए देशलाई निकास दिने एक मात्र लोकतान्त्रिक विकल्प निष्पक्ष, स्वतन्त्र र समयमै निर्वाचन हुने उनले बताए। नयाँ जनादेशबिना वर्तमान संकट समाधान हुन नसक्नेमा उनले जोड दिए।
जेनजी २.० ले सबै राजनीतिक दल, संवैधानिक निकाय तथा राज्य संरचनालाई लक्षित गर्दै अबका निर्णय सत्ता जोगाउने नभई देश जोगाउनेतर्फ केन्द्रित हुनुपर्ने स्पष्ट सन्देश दिएको छ। अबका सम्झौता बन्द कोठाभित्र होइन, जनतासँग खुला रूपमा हुनुपर्ने उनको भनाइ छ।
उनले जेनजी २.० लोकतन्त्र, जवाफदेहिता र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिरहने प्रतिबद्धता दोहोर्याए।


















Discussion about this post