निर्वाचनमा २६ दिन बाँकी: आचारसंहिता उल्लङ्घनबारे २४ उम्मेदवारले बुझाए स्पष्टीकरण

सार्थक ब्यूरो।निर्वाचन हुन अब २६ दिन मात्र बाँकी रहँदा निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमध्ये २४ जना उम्मेदवारले जवाफ पेश गरेका छन्। आयोगले कूल ३४ राजनीतिक दल तथा तिनसँग सम्बद्ध उम्मेदवारलाई स्पष्टिकरण सोधेकोमा अझै १० जनाबाट जवाफ आउन बाँकी रहेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्पष्टिकरण सोधिएका ३४ मध्ये २४ जनाले तोकिएको समयभित्र जवाफ बुझाएका छन् भने बाँकी उम्मेदवारको प्रतिकृया आउन बाँकी छ।
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आयोगले प्राप्त उजुरीका आधारमा आवश्यक छानबिन तथा कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ। आचारसंहिता उल्लङ्घनका घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कर्यालयहरू सक्रिय रूपमा परिचालित छन्।
जिल्लास्तरमा आचारसंहिता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ अनुसार ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमनको जिम्मेवारी दिइएको आयोगले जनाएको छ। उनीहरूलाई आर्थिक बाहेकका विषयमा अनुगमन गर्ने अधिकार प्रदान गरिएको छ।
यसैगरी आर्थिक विषयको अनुगमनका लागि जिल्लामा प्रमुख कोष नियन्त्रक र लेखा नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी तोकिएको छ। आयोगका अनुसार छोटो समयमै सबै जिल्लामा सरोकारवाला निकायलाई आचारसंहिताबारे जानकारी गराउने तथा पालना गर्ने प्रतिबद्धता गराउने काम प्रभावकारी रूपमा अघि बढिरहेको छ।
जिल्लास्तरमा प्राप्त भएका आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरूमाथि आवश्यक छानबिन गरी कारबाही भइरहेको आयोगले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित