सार्थक ब्यूरो।जन्ती लिएर फर्किँदै गर्दा सबैको मनमा खुसी र उत्साह थियो। विवाहको रमाइलो सकाएर दुलहीसहित घर फर्किने यात्राले कसैलाई पनि शोकमा डुबाउने कल्पना थिएन। तर दुलहीको घरबाट हिँडेको करिब १५–२० मिनेटमै पुर्चौडीको एक उकालो घुम्तीले त्यो खुसीलाई गहिरो पीडामा बदलिदियो।
बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँमा बिहीबार साँझ भएको बस दुर्घटनामा १३ जनाले ज्यान गुमाए भने ३४ जना घाइते भए। दुर्घटनाले एउटा परिवार मात्र होइन, सिंगो गाउँलाई शोकमा डुबाएको छ।
दुलहीकी आमाले छोरीलाई पराइघर पठाउँदाको पीडा मनमै बोकेकी थिइन्। तर छोरीलाई विदा गरेर फर्किने क्रममा आफ्नै छोराले बाटोमै ज्यान गुमाउँदा जीवन नै रित्तिएको उहाँले बताउनुभयो। “छोरी पराइघर दिँदाको दुःख अझै मनमा थियो, दिदी पुर्याउन गएको छोरो फर्किएन,” भन्दै उहाँका आँसु रोकिएनन्।
एउटै दिनमा छोरीको बिछोड र छोराको स्वर्गवास भोग्नुपर्दा घरमा खुसीको साटो सन्नाटा छाएको उहाँको भनाइ छ। विवाहको गीत बज्नुपर्ने आँगनमा अहिले शोकको मौनता फैलिएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको बस साँघुरो र उकालो घुम्तीमा अनियन्त्रित भई करिब दुई सय मिटर तल खसेको हो। दुर्घटनामा घाइते भएका ३४ जनामध्ये केहीको डडेलधुरा र केहीको धनगढीमा उपचार भइरहेको छ भने एक जना उपचारपछि घर फर्किएका छन्।
प्रहरीका अनुसार घटनास्थलमै छ जनाको ज्यान गएको थियो। बाँकीमध्ये दुई जनाको कोटिला स्वास्थ्य चौकीमा र पाँच जनाको डडेलधुरा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
दुर्घटनामा परेका मृतक र घाइते सबै दुलाहा–दुलहीका आफन्त र नातेदार रहेको प्रहरीले जनाएको छ। सहोदर दाजुभाइ, बुवा–छोरा, छोरी–ज्वाइँसमेत दुर्घटनामा परेका छन्। दुर्घटनाग्रस्त बसमा ४९ जना सवार रहेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो।
प्रारम्भिक अनुसन्धानअनुसार बसमा यात्रु बढी भएको र उकालो घुम्तीमा बस पछाडि सर्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनाबाट ज्यान जोगाएका पुर्चौडी नगरपालिका निवासी चन्द्र अवस्थीले चालकले गाडी असामान्य रूपमा चलाइरहेको अनुभूति भएको बताउनुभयो।
स्थानीयवासी नन्दसिंह ऐरिका अनुसार सडक कच्ची, साँघुरो र भिरालो भएकाले जोखिम बढेको हो। बिथडचिर गाउँपालिका–४ का शंकरदत्त जोशीले उकालोमा तीव्र गतिका कारण घुम्तीमा बस नियन्त्रण बाहिर गएको हुन सक्ने बताउनुभयो।
यो दुर्घटनाले फेरि एकपटक ग्रामीण सडक, यात्रु सुरक्षाको अवस्था र लापरवाहीपूर्ण यात्राप्रति गम्भीर प्रश्न उठाएको छ।


















Discussion about this post