नन्दकृष्ण जोशी कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

सार्थक ब्यूरो।कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले नेपाली लोकसंस्कृतिमा विशेष योगदान पुर्‍याएका देउडा क्षेत्रका अग्रणी स्रष्टा नन्दकृष्ण जोशीलाई ‘कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरेको छ।
प्रतिष्ठानको ३४औँ स्मृति दिवसका अवसरमा आयोजित विशेष समारोहमा जोशीलाई सम्मानपत्रसहित खादा, माला र दोसल्ला ओढाएर उक्त पुरस्कार प्रदान गरिएको हो। समारोह प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको अध्यक्षता तथा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा अनेसास केन्द्रीय संस्कृति समितिका संयोजक तथा पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक साहित्यकार–संगीतकार महेश्वर पन्त, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी. लगायतको उपस्थिति रहेको थियो।
स्वागत मन्तव्य दिँदै प्रतिष्ठानका तर्फबाट परमेश्वर पन्तले प्रतिष्ठानको उद्देश्य, पुरस्कारहरूको महत्व तथा कृष्णा पन्तको स्मृतिमा स्थापना गरिएका छात्रवृत्ति र महिला सम्मान पुरस्कारबारे जानकारी गराए। देशकालको अवस्थाका कारण यस वर्ष स्मृति दिवसको कार्यक्रम निर्धारित मितिभन्दा अगाडि आयोजना गरिएको पनि उनले स्पष्ट पारे।
प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी उद्घाटन गरिएको समारोहको सञ्चालन अनेसास नेपाल च्याप्टरका निवर्तमान महासचिव तथा छन्दकवि ऋषभदेव घिमिरेले गरेका थिए। उनले कालीभक्त पन्तद्वारा रचित नेपाली लोकगीतबाट कार्यक्रमको शुभारम्भ गराएका थिए।
कार्यक्रममा बाल कलाकार श्रीयङ्का बस्नेतले नृत्य प्रस्तुत गरिन् भने कालीभक्त पन्तको जीवन र योगदानमाथि अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले संक्षिप्त प्रकाश पारे। उनले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने आठौँ स्रष्टाका रूपमा नन्दकृष्ण जोशीलाई बधाई दिएका थिए।
साहित्यकार महेश्वर पन्तले ‘नेपाल, अब नेपालमा मात्र सीमित रहेन’ शीर्षकको कविता वाचन गर्दै लोकगीत तथा गजल प्रस्तुत गरेर कार्यक्रमलाई जीवन्त बनाएका थिए। यस्तै, अनेसास गण्डकी प्रदेश समितिका संयोजक देवु के.सी. देवेन्द्रले समसामयिक कविता सुनाए।
यसैक्रममा कालीभक्त–कृष्णा पन्त छात्रवृत्ति तथा कृष्णा पन्त महिला सम्मान पुरस्कार प्राप्त गर्ने व्यक्तित्व तथा संस्थाहरूको नाम पनि घोषणा गरियो।
पुरस्कार ग्रहण गर्दै नन्दकृष्ण जोशीले यस सम्मानलाई केवल पुरस्कार नभई पितृको आशीर्वादका रूपमा लिएको बताए। आफ्नो संघर्षपूर्ण यात्राका अनुभव सुनाउँदै उनले देउडा गीत प्रस्तुत गर्दा सभाहल उत्साहले भरिएको थियो।
समारोहमा अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी.ले प्रतिष्ठानका गतिविधिको प्रशंसा गर्दै पुरस्कृत स्रष्टालाई शुभकामना दिए। प्रमुख अतिथि प्रा.डा. लुइटेलले कालीभक्त पन्तको व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्दै नेपाली सांस्कृतिक इतिहासमा उहाँको योगदान उल्लेख गरे।
अन्त्यमा सभापति प्रा.डा. पार्थिवेश्वर तिमिल्सिनाले सबैप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए। जिपी तिमिल्सिना फाउण्डेशनको सभा हलमा सम्पन्न कार्यक्रममा साहित्य, संगीत, शिक्षा, चिकित्सा तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित