सार्थक ब्यूरो।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यसपटक बैतडीमा अधिकांश नयाँ अनुहारहरू उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। तर गाउँ–बस्तीमा मत माग्न पुग्दा मतदाताले भने वर्षौँदेखिका पुरानै गुनासा पुनः उठाएका छन्। रोजगारीको अभाव, गुणस्तरीय शिक्षा नहुनु र सुलभ स्वास्थ्य सेवाको कमी मुख्य समस्या बनेर देखिएको छ।
प्रतिनिधिसभा निर्वाचनमा बैतडीबाट विभिन्न राजनीतिक दलका १० जना र दुई जना स्वतन्त्र गरी १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द डिलासैनी गाउँपालिका पुग्दा स्थानीयवासीले उपचारका लागि जिल्लामै सुविधा नपाएको गुनासो गरेका थिए। त्यस्तै, सिगास गाउँपालिकामा मतदाता भेट्न पुगेका स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीसँग स्थानीयले बेरोजगारीको समस्या सुनाए।
नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारीसँग पुर्चौडी क्षेत्रका मतदाताले खानेपानीको अभावबारे ध्यानाकर्षण गराएका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार परमानन्द भट्ट र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भूपेन्द्र चन्दसँग पनि जिल्लामै रोजगारीको अवसर नहुनु प्रमुख गुनासोका रूपमा उठाइएको छ।
तथ्याङ्कअनुसार बैतडीमा जडीबुटी, फलाम र कृषि मलका लागि प्रयोग हुने फस्फोराइट खानी जस्ता स्रोत भए पनि जिल्ला अझै देशका १० गरिब जिल्लामध्ये पर्छ। जडीबुटी उद्योग र कलकारखानाको सम्भावना हुँदाहुँदै पनि कच्चा पदार्थ बिचौलियामार्फत भारत निर्यात हुने गरेको छ।
चार नगरपालिका र छ गाउँपालिका रहेको बैतडीमा ८४ वडा छन्। करिब दुई लाख ४४ हजार जनसङ्ख्या रहेको यस जिल्लामा युवाको ठूलो हिस्सा वैदेशिक रोजगारीमा जान बाध्य भएको देखिन्छ।


















Discussion about this post