सार्थक ब्यूरो।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बैतडी जिल्लामा तीन सयभन्दा बढी भरुवा बन्दुक संकलन गरिएको छ। निर्वाचन सुरक्षालाई मजबुत बनाउन शनिबारसम्म जिल्ला प्रहरी कार्यालय बैतडीमा ३८७ नाल इजाजतप्राप्त भरुवा बन्दुक बुझाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बल्देव बडूका अनुसार बन्दुक त फिर्ता आएको भए पनि तीमा प्रयोग हुने गोली भने हालसम्म कसैले पनि बुझाएका छैनन्।
यसअघि जिल्ला प्रशासन कार्यालय बैतडीले माघ ६ गते सूचना जारी गर्दै माघ २० गतेभित्र इजाजतप्राप्त सबै प्रकारका हातहतियार र गोलीगठ्ठा बुझाउन निर्देशन दिएको थियो। तर तोकिएको समयभित्र सबै हातहतियार संकलन हुन नसकेपछि प्रशासनले पुनः सूचना प्रकाशित गरी म्याद थप गरेको जनाएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले विभिन्न व्यक्तिका नाममा दर्ता रहेका इजाजतप्राप्त हातहतियार फिर्ता बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो।


















Discussion about this post