सार्थक ब्यूरो। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। उम्मेदवारको संख्या धेरै छ, दलहरूबीच प्रतिस्पर्धा चर्को छ, तर चुनावी संवादको मूलधार एउटै नाम वरिपरि घुमिरहेको देखिन्छ,नेकपा एमालेका उम्मेदवार डा. दिपक प्रकाश भट्ट। यही सन्दर्भमा स्थानीय तहदेखि मतदातामाझ एउटा धारणा बलियो हुँदै गएको छ— “डा. भट्टको विकल्प छैन।”
यो अभिव्यक्ति कुनै भावनात्मक नारा मात्र होइन, पछिल्लो एक दशकको राजनीतिक अनुभव, कार्यसम्पादनको मूल्याङ्कन र आगामी अपेक्षाबाट बनेको जनमतको प्रतिबिम्ब हो।
डा. भट्ट २०७४ सालमा निर्वाचित भइसकेका अनुभवी सांसद हुन्। त्यस निर्वाचनमा पूर्व गृहमन्त्री रमेश लेखकलाई पराजित गर्नु सामान्य राजनीतिक घटना थिएन। त्यसले कञ्चनपुर–३ मा मतदाताको प्राथमिकता परिवर्तन भएको स्पष्ट सन्देश दिएको थियो , नाम र पदभन्दा माथि उठेर क्षमता, बौद्धिकता र स्वच्छ छविलाई रोज्ने संकेत।
सांसदका रूपमा भट्टको पहिचान भाषणमुखी होइन, काममुखी नेताको रूपमा बन्यो। यही कारण अहिले उनी पुनः अधुरा कामलाई पूर्णता दिने र नयाँ योजनासहित चुनावी मैदानमा उत्रिँदा मतदातामाझ भरोसा देखिन्छ।
बेदकोट–८ बाट वडा सम्पर्क कार्यालय उद्घाटनसँगै सुरु भएको भट्टको चुनावी अभियान अहिले अधिकांश वडामा विस्तार भइसकेको छ। घरदैलो, व्यक्तिगत भेटघाट र प्रत्यक्ष संवादमा केन्द्रित उनको शैलीले मतदातासँगको दूरी घटाएको छ। चुनाव केवल घोषणापत्रबाट होइन, नेतृत्व र जनताबीचको विश्वासबाट जितिन्छ भन्ने बुझाइ उनको अभियानमा देखिन्छ।
कञ्चनपुर–३ का मतदाताको बुझाइ भावनामा होइन, अनुभवमा आधारित देखिन्छ। धेरै मतदाताको भनाइ एउटै छ ,“ठूला भाषण धेरै सुन्यौँ, अब काम गर्ने मान्छे चाहिएको हो।”
१७ जना उम्मेदवार चुनावी मैदानमा हुँदा पनि डा. भट्टलाई ‘हेभिवेट’ मानिनुको कारण यही हो। कांग्रेस, माओवादी, राप्रपा, रास्वपा लगायत दलका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्, तर नेतृत्वको निरन्तरता, विकासको स्पष्ट दृष्टि र स्वच्छ छविको संयोजन अरूमा नदेखिएको भन्ने जनधारणा बलियो छ।
कांग्रेसले टिकट नदिएपछि पूर्व गृहमन्त्री रमेश लेखक हरि प्रसाद बोहरालाई जिताउन सक्रिय देखिनु आफैंमा कांग्रेसभित्रको आन्तरिक असन्तुलनको संकेत हो। विशेष महाधिवेशनपछिको टिकट वितरणले असन्तुष्टि बढाएको चर्चा छ, जसको प्रत्यक्ष असर चुनावी परिणाममा पर्न सक्ने आँकलन राजनीतिक वृत्तमा भइरहेको छ।
कञ्चनपुर–३ को चुनावी इतिहास हेर्दा एमाले र कांग्रेसबीच पालैपालो जित–हार भएको देखिन्छ। एमाले २०५१ र २०७४ मा विजयी भयो भने कांग्रेसले धेरै पटक प्रतिनिधित्व गर्यो। तर यसपटकको निर्वाचन इतिहासको निरन्तरता मात्र होइन, व्यक्तित्व र कार्यसम्पादनको मूल्याङ्कन बन्दै गएको संकेत स्पष्ट छ।
कञ्चनपुर–३ को चुनाव अब केवल दलहरूको प्रतिस्पर्धा होइन, काम बनाम वाचाको निर्णायक परीक्षा बनेको छ। यही सन्दर्भमा मतदातामाझ सुनिन थालेको “डा. दिपक प्रकाश भट्टको विकल्प छैन” भन्ने भनाइ कुनै पूर्वाग्रह होइन, अघिल्ला कार्यकालको अनुभव, वर्तमान अभियानको संगठित स्वरूप र भविष्यप्रतिको अपेक्षाबाट बनेको निष्कर्ष हो।
अन्तिम फैसला मतपेटिकामा हुनेछ। तर चुनावी माहोलले एउटा संकेत भने दिइसकेको छ—कञ्चनपुर–३ मा राजनीतिक बहसको केन्द्र, अहिले पनि, डा. दिपक प्रकाश भट्ट नै हुन्।


















Discussion about this post