सार्थक ब्यूरो। संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। राजधानीस्थित होटल हेभन रिसोर्टमा आयोजित अधिवेशनले धर्मराज पोखरेललाई संघको अध्यक्षमा निर्वाचित गरेको हो।
निर्वाचन परिणामअनुसार उपाध्यक्षमा जयप्रसाद भट्टराई, सचिवमा कुमार श्रेष्ठ, सह–सचिवमा नवराज भुजेल र कोषाध्यक्षमा प्रकाशसिंह धामी चयन भएका छन्। त्यसैगरी कार्यसमिति सदस्यमा सुजन सिलवाल, राजकुमार बी.सी., निरज श्रेष्ठ तथा कान्तिकुमारी खड्का निर्वाचित भएका छन्।
साधारणसभालाई सम्बोधन गर्दै ढुवानी व्यवसायी महासंघ–नेपालका अध्यक्ष माधवप्रसाद नेपालले ढुवानी क्षेत्रप्रति राज्यको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे। उनले राजस्व अनुसन्धानको नाममा व्यवसायीलाई अनावश्यक झन्झट दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने उल्लेख गर्दै बजेटमार्फत व्यवसायमैत्री कर प्रणाली लागू गर्न सरकारसँग आग्रह गरे।
नेपालले ढुवानी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन राज्यको भूमिका महत्त्वपूर्ण रहने बताउँदै काठमाडौंमा ट्रान्सपोर्ट नगर स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए। यसका लागि सरकारले आवश्यक जग्गा उपलब्ध गराई महासंघसँग सहकार्य गर्नुपर्ने उनको भनाइ थियो। उनले व्यवसाय क्षेत्रमा बढ्दो अस्वस्थ प्रतिस्पर्धा समस्या बनेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न व्यवसायी स्वयं पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संघको संगठनात्मक सुदृढीकरण, व्यवसायीको हक–हित संरक्षण तथा ढुवानी क्षेत्रलाई व्यवस्थित बनाउने विषयमा आगामी कार्ययोजना तय गरेको जनाएको छ। कार्यक्रममा व्यवसायीहरूले नीतिगत तहबाट हुने उपेक्षा अन्त्य गर्दै क्षेत्रका समस्या समाधान गर्न सरकारसँग माग गरेका थिए।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अच्युतराज खनाल, उपाध्यक्ष अरुणकुमार श्रेष्ठ, महासचिव पुष्पराज श्रेष्ठ, निवर्तमान अध्यक्ष विश्वनाथ खनाललगायतको सहभागिता रहेको थियो।


















Discussion about this post