भक्तपुर–२ मा नेमकिपाको जित्ने दाबी, भ्रष्टाचारविरुद्ध कडा एजेन्डा अघि सार्दै वैद्य

सार्थक ब्यूरो।नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रमेश वैद्यले यस पटक आफू विजयी हुने दाबी गरेका छन्। स्वतन्त्र पत्रकार संघ भक्तपुरले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले पार्टीको दीर्घकालीन भ्रष्टाचारविरोधी अडान नै आफ्नो जितको मुख्य आधार हुने बताए।
वैद्यले नेमकिपाले विगतदेखि नै भ्रष्टाचारका विरुद्ध स्पष्ट नीति लिँदै आएको उल्लेख गर्दै युवा पुस्ताको समर्थन आफूहरूलाई प्राप्त हुने विश्वास व्यक्त गरे। उनले पार्टीको घोषणापत्रमा ठूला भ्रष्टाचारीलाई कडा सजाय, आवश्यक परे मृत्युदण्डसम्मको व्यवस्था गर्नुपर्ने प्रस्ताव समेटिएको जानकारी दिए। साथै भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण गरी सोही स्रोतबाट शिक्षा र स्वास्थ्य सेवा निःशुल्क बनाउन सकिने पार्टीको धारणा रहेको बताए।
कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने नीति आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै वैद्यले आफू पेशाले किसान भएको स्मरण गराए। उनले श्रमशक्तिको मात्र होइन, उत्पादन र सामग्री निर्यात गर्ने देशका रूपमा नेपाललाई रूपान्तरण गर्नुपर्नेमा जोड दिए।
भक्तपुर–२ मा विगतका निर्वाचनहरूमा विभिन्न दलले पालैपालो जित निकाल्दै आएका छन्। २०४८ सालमा नेपाली कांग्रेसका जग्गनाथ आचार्य निर्वाचित भएका थिए भने २०५१ मा नेमकिपाका आशाकाजी बासुकला विजयी भएका थिए। त्यसपछि २०५६ मा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेमकिपाका सुनिल प्रजापति, २०७० मा कांग्रेसका रामेश्वर थापा, २०७४ मा एमालेका महेश बस्नेत र २०७९ मा कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका थिए।
यस निर्वाचन क्षेत्रमा मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका समावेश छन्। मध्यपुर थिमिमा ९ र सूर्यविनायकमा १० गरी कुल १९ वडा रहेका छन्। यहाँ ९८ हजार ३५६ मतदाता रहेको निर्वाचन कार्यालयको तथ्यांक छ।
यसपटक कांग्रेसबाट कविर राणा, एमालेबाट महेश बस्नेत, नेमकिपाबाट रमेश वैद्य, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, नेकपाबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा र उज्यालो नेपाल पार्टीबाट जीतमान लामा लगायत उम्मेदवार मैदानमा छन्। दल तथा स्वतन्त्र गरी कुल ३२ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित