सार्थक ब्यूरो।कञ्चनपुर जिल्ला को निर्वाचन क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। उम्मेदवारहरू घरदैलो, सभा, भेटघाट र सामाजिक सञ्जालमार्फत मत माग्न सक्रिय देखिएका छन्। तर मतदाताको मनस्थिति भने अझै पूर्ण रूपमा स्पष्ट भइसकेको छैन। प्रचारको चहलपहल बढे पनि आम जनतामा उत्साह र अपेक्षाबीच एक प्रकारको प्रतीक्षाभाव देखिन्छ।
यो क्षेत्र अन्तर्गत बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिका पर्दछन्। कुल १ लाख १ हजार ७२४ मतदाता रहेको यस क्षेत्रमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। सत्तारुढ तथा प्रमुख प्रतिपक्षी दलहरूसहित नयाँ राजनीतिक शक्तिहरूले समेत आफ्नो उपस्थिति बलियो बनाउन प्रयास गरिरहेका छन्।
स्थानीय तहका बजार र बस्तीहरूमा चुनावी चर्चा भइरहे पनि विगतका चुनावजस्तो व्यापक उत्साह देखिँदैन। मतदाता अब केवल नारामुखी राजनीतिमा सीमित छैनन्; उनीहरू ठोस एजेण्डा, कार्यान्वयनको विश्वसनीयता र दीर्घकालीन परिणाम हेर्न चाहन्छन्।
विगतका आन्दोलन र राजनीतिक उतारचढावले जनतामा आशा र संशय दुवै पैदा गरेको छ। त्यसैले अहिले धेरै मतदाता अन्तिम समयसम्म निर्णय नगर्ने मनस्थितिमा देखिन्छन्। “कसलाई मत दिने?” भन्ने प्रश्नमा स्पष्टता नआउनु राजनीतिक प्रतिस्पर्धा कडा भएको संकेत पनि हो।
यस क्षेत्रमा मुख्य रूपमा हुलाकी राजमार्ग, सीमा व्यवस्थापन, बेलौरी–कलुवापुर सडक, दोदा नदी नियन्त्रण, मानव–वन्यजन्तु द्वन्द्व, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या, खानेपानी, स्वास्थ्य सेवा र रोजगारीजस्ता मुद्दा प्रमुख बनेका छन्।
जग्गाधनी पूर्जा वितरण, प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति, सडक सञ्जाल विस्तार र कृषि तथा साना व्यवसाय प्रवर्द्धन जस्ता विषय मतदाताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका छन्। त्यसैले चुनावी बहस पनि राष्ट्रिय एजेण्डाभन्दा बढी स्थानीय विकास र सेवासुविधामा केन्द्रित देखिन्छ।
यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धाको आकलन गरिएको छ। कुनै पनि उम्मेदवारले सहज जितको दाबी गर्न सक्ने अवस्था छैन।
२०७९ को निर्वाचनमा तारालामा तामाङ निर्वाचित भएको इतिहास छ। त्यसअघि विभिन्न चरणमा बीना मगर, दिवान सिंह विष्ट, पुरन रानाथारु लगायतका नेताहरू निर्वाचित भएका थिए। यसले देखाउँछ कि कञ्चनपुर–१ को मतदाता परम्परागत रूपमा एउटै दलमा स्थिर नबसी परिस्थिति र एजेण्डाअनुसार निर्णय गर्ने स्वभावका छन्।
चुनावी अभियान तिव्र बन्दै जाँदा मतदाताले आफ्ना प्राथमिकता तौलिरहेका छन्। अहिलेको माहोल हेर्दा जनतामा निराशा भन्दा पनि सावधानी र परिपक्वता बढी देखिन्छ। मतदाताले उत्साहको प्रदर्शनभन्दा बढी परिणाममुखी नेतृत्व रोज्न चाहेको संकेत मिल्छ।
फागुन २१ नजिकिँदै जाँदा उम्मेदवारहरूको सक्रियता झन् बढ्ने निश्चित छ। तर अन्तिम निर्णय भने मतदाताको मौन विवेकले गर्नेछ। कञ्चनपुर–१ मा यसपटकको चुनाव केवल प्रतिस्पर्धा मात्र होइन, मतदाताको बदलिँदो चेतना र अपेक्षाको परीक्षणका रूपमा पनि हेरिएको छ।


















Discussion about this post