फोहोर व्यवस्थापनको स्पष्ट र सुरक्षित समाधान नआएसम्म मतदान प्रक्रियामा सहभागी नहुने चेतावनी

सार्थक ब्यूरो।डडेलधुराको अमरगढी नगरपालिकामा फोहोर व्यवस्थापनको विषयले चुनावी माहोल तातिएको छ। वडा नं. ६ का बासिन्दाले फोहोर व्यवस्थापनको स्पष्ट र सुरक्षित समाधान नआएसम्म मतदान प्रक्रियामा सहभागी नहुने चेतावनी दिएका छन्।
डडेलधुरा सदरमुकामस्थित अमरगढी नगरपालिका–६ अन्तर्गतको एक वन क्षेत्रमा सार्वजनिक जग्गा खरिद गरी डम्पिङ साइट निर्माणका लागि नगरपालिकाले बोलपत्र आह्वान गर्ने तयारी थालेपछि स्थानीयले आपत्ति जनाएका हुन्।
बिहीबार स्थानीयवासीले वडा कार्यालय घेराउ गर्दै फोहोर व्यवस्थापनबारे पारदर्शी निर्णय र उपयुक्त स्थान छनोट गर्न माग गरेका छन्। संघर्ष समितिका अध्यक्ष गङ्गा ताम्राकारका अनुसार सुरुमा सो क्षेत्रमा कागती खेती गर्ने योजना रहेको जानकारी दिइएको थियो, तर पछि त्यही स्थानलाई फोहोर व्यवस्थापन केन्द्र बनाउने तयारी भएको थाहा पाएपछि स्थानीय असन्तुष्ट भएका हुन्। “नगरपालिकाले वास्तविक योजना नखुलाइ जनतालाई भ्रममा पारेको छ,” उहाँले आरोप लगाउनुभयो।
भजनपुरनजिकैको गुनेगाड क्षेत्र डम्पिङ साइटका लागि उपयुक्त नभएको स्थानीयको दाबी छ। उक्त क्षेत्र वरिपरि खानेपानीका मुहान, सिँचाइ स्रोत, विद्यालय जाने बाटो तथा बाक्लो बस्ती रहेकाले फोहोर थुपारिँदा वातावरणीय प्रदूषण र स्वास्थ्य जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ।
स्थानीयवासीले विगतमा पनि विभिन्न चरणमा छलफल, विरोध कार्यक्रम र ध्यानाकर्षण गराए पनि नगरपालिकाबाट स्पष्ट र सन्तोषजनक जवाफ नआएको गुनासो गरेका छन्। बिहीबार आयोजित भेलामा करिब तीन सयभन्दा बढी स्थानीयको सहभागिता रहेको संघर्ष समितिले जनाएको छ। भेलाले सर्वसम्मत रूपमा माग सम्बोधन नभएसम्म आसन्न निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताइएको छ।
संघर्ष समितिका पदाधिकारीहरूले जनस्वास्थ्य, बालबालिकाको शिक्षा तथा दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने विषयलाई गम्भीरतापूर्वक लिएर नगरपालिकाले पुनर्विचार गर्नुपर्ने बताएका छन्। स्थानीयको माग सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित