सार्थक ब्यूरो।कैलाली–४ मा चुनावी सरगर्मी बढिरहेका बेला नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री लेखराज भट्ट ले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। अत्तरियास्थित निवासमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले क्षेत्रीय आवश्यकता र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर विस्तृत कार्ययोजना अघि सार्नुभएको हो।
प्रतिबद्धतापत्र सार्वजनिक गर्दै भट्टले राष्ट्रिय गौरवका अधुरा तथा पुराना योजनालाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभयो। उहाँले कैलाली–४ लाई सुदूरपश्चिमको समग्र विकासको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित योजनाबद्ध पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
ऊर्जा र औद्योगिक विकासतर्फ ध्यान केन्द्रित गर्दै भट्टले पश्चिम सेती जलविद्युत् आयोजना निर्माण प्रक्रियालाई अगाडि बढाउन पहल गर्ने उल्लेख गर्नुभयो। साथै, दोधारा चाँदनी सुक्खा बन्दरगाहलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन तथा हरैया औद्योगिक क्षेत्रलाई विशेष व्यापारिक क्षेत्रका रूपमा विकास गर्न आवश्यक समन्वय र पहल गर्ने उहाँको भनाइ छ। गेटा विमानस्थललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सक्ने स्तरमा स्तरोन्नति गर्ने, सेती लोकमार्गको विस्तार तथा स्तरोन्नति गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभएको छ।
स्वास्थ्य र शिक्षालाई दीर्घकालीन समृद्धिको आधार मानेका भट्टले सुदूरपश्चिमस्थित सहिद दशरथ चन्द विज्ञान विश्वविद्यालयलाई ६ सय शय्याको अस्पतालसहित एमबिबिएस अध्ययन सञ्चालन हुने संस्थाका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। यसका साथै सामुदायिक क्याम्पसहरूको भौतिक संरचना सुधार, नयाँ सङ्काय विस्तार तथा गुणस्तरीय शिक्षाको पहुँच विस्तारमा जोड दिइने बताउनुभयो।
सामुदायिक विद्यालयमा गुणस्तरीय र सर्वसुलभ शिक्षा सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माण, शिक्षक–कर्मचारीका सेवा–सुविधा सुधार र शिक्षण पेशाको मर्यादा अभिवृद्धि गर्ने विषयलाई पनि उहाँले प्राथमिकतामा राख्नुभएको छ।
पूर्वाधार विस्तारतर्फ धनगढी–दिपायल सडकखण्ड, उरई नाका (ताक्लाकोट) फास्ट ट्र्याकसहित क्षेत्रभित्रका विभिन्न सडकहरूको निर्माण, स्तरोन्नति र विस्तारमा विशेष पहल गर्ने योजना अघि सारिएको छ। बाढीपहिरो र नदी कटानबाट प्रभावित क्षेत्रको संरक्षणका लागि तटबन्ध निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ।
भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्दै भट्टले छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण र पशु संरक्षण कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गर्नुभएको छ। कृषिमा प्राङ्गारिक मलको प्रयोग प्रवर्द्धन गर्न विभिन्न स्थानमा जैविक मल केन्द्र स्थापना गर्ने विषयलाई समेत उहाँले समेट्नुभएको छ।
चुनावी प्रतिबद्धता सार्वजनिक भएसँगै कैलाली–४ मा विकासमुखी एजेन्डा केन्द्रित बहस सुरु भएको छ। मतदातामाझ भौतिक पूर्वाधार, शिक्षा–स्वास्थ्य सुधार र आर्थिक अवसर विस्तारका विषयमा आशा र अपेक्षा बढ्दै गएको देखिन्छ। यसले निर्वाचनलाई केवल प्रतिस्पर्धा मात्र नभई समृद्धिको दिशातर्फ अघि बढ्ने अवसरका रूपमा स्थापित गर्ने वातावरण सिर्जना गरेको छ।


















Discussion about this post