सार्थक ब्यूरो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुर ले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाका सीमा नाका बन्द गर्ने तथा सवारी साधन सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
गृह मन्त्रालय को निर्देशनअनुसार आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका कञ्चनपुरका सम्पूर्ण सीमा नाकाहरू बन्द गरिने जनाइएको छ।
कार्यालयका अनुसार २०८२ फागुन १९ गते राति १२:०० बजेदेखि २०८२ फागुन २२ गते राति १२:०० बजेसम्म (अनुसार २ मार्च २०२६ राति १२:०० बजेदेखि ५ मार्च २०२६ राति १२:०० बजेसम्म) सीमा नाका पूर्ण रूपमा बन्द रहनेछन्।
यस अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइनेछ। एम्बुलेन्स, दमकल, शववाहन, अस्पताल सेवा, विद्युत सेवा, दूरसञ्चार सेवा, कूटनीतिक नियोगका सवारी साधन तथा अनुमति प्राप्त सवारी साधनलाई भने सञ्चालनको अनुमति दिइने प्रशासनले स्पष्ट गरेको छ।निर्वाचन अवधिभर शान्ति–सुरक्षा सुदृढ बनाउँदै मतदातालाई स्वतन्त्र रूपमा मतदान गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ।
सूचनामा सर्वसाधारणलाई तोकिएको समयावधिमा सीमा आवत–जावत नगर्न तथा सवारी साधन सञ्चालनसम्बन्धी निर्देशनको पालना गर्न अनुरोध गरिएको छ।उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीद्वारा जारी गरिएको हो।


















Discussion about this post