निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्न सर्वसाधारणलाई प्रधानमन्त्री सुशीला कार्कीकोआह्वान

सार्थक व्युरो ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तय गरिएको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्न सर्वसाधारणलाई आह्वान गरेकी छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन सबै नागरिकलाई आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले देशलाई राजनीतिक स्थिरता र आर्थिक समृद्धिको दिशामा अघि बढाउन यो निर्वाचन महत्वपूर्ण अवसर भएको उल्लेख गरिन् । मतदानलाई सामान्य औपचारिक प्रक्रिया नभई आफ्नो तथा भावी पुस्ताको भविष्य निर्धारण गर्ने निर्णायक कदमका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।
‘जेन–जी’ आन्दोलनपछिको जटिल र संवेदनशील अवस्थाको स्मरण गर्दै उनले युवाहरूमा देखिएको असन्तोषलाई शान्तिपूर्ण राजनीतिक निकासमार्फत सम्बोधन गर्न वर्तमान सरकार सफल भएको दाबी गरिन् ।
उनले मौन अवधिमा पूर्ण संयम र अनुशासन कायम राख्न सबै राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरिन् । सामाजिक सञ्जाल वा आमसञ्चारका माध्यमबाट गलत, भ्रामक वा बनावटी सामग्री फैलाएर निर्वाचनको वातावरण बिगार्ने प्रयास भए त्यसप्रति सरकार सतर्क रहेको चेतावनी दिइन् ।
कानूनविपरीत गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पार्दै उनले दण्डहीनतालाई कुनै हालतमा सहन नसकिने बताइन् । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित