सार्थक व्युरो ।नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थितिमा वाम शक्तिहरूबीच पुनः एकता अपरिहार्य बन्दै गएको बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा वामपन्थी पृष्ठभूमिका व्यक्तिहरूलाई स्वागत गर्दै उनले देशभक्त कम्युनिष्ट शक्तिहरू विखण्डित हुँदा मुलुक जटिल अवस्थातर्फ धकेलिएको दाबी गरे । वाम ध्रुवीकरण बलियो भएको भए देशले अहिलेको अप्ठ्यारो अवस्था भोग्नुपर्दैनथ्यो भन्ने उनको भनाइ थियो ।
संयोजक दाहालले जेनजी आन्दोलन तथा भदौ २४ को घटनापछि कम्युनिष्ट शक्तिलाई एकजुट गर्ने आवश्यकता अझै तीव्र बनेको उल्लेख गर्दै त्यसैको आधारमा नेपाल कम्युनिष्ट पार्टी गठन गरिएको स्पष्ट पारे । जनताको असन्तुष्टि र निराशालाई भड्काएर अराजकतातर्फ लैजान खोज्ने प्रवृत्तिविरुद्ध सशक्त रूपमा उभिन सक्ने क्षमता नेकपासँग रहेको उनले दाबी गरे ।
वाम आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले त्यसको प्रतिरोधका लागि क्रान्तिकारी तथा राष्ट्रवादी शक्तिहरूको पुनर्संरचना जरुरी भएको बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले आफ्नो नेतृत्वकालमा भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चालेको, प्रशासनिक सुधार अघि बढाएको र संविधान तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन पहल गरेको दाबी गरे ।
उनले महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमलगायत उत्पीडित समुदायका अधिकार संरक्षण र कार्यान्वयनका लागि आफ्नो दललाई समर्थन गर्न आग्रह गरे । भ्रष्टाचार उन्मूलन, माफिया तथा बिचौलियाको प्रभाव अन्त्य र कानुनी शासन स्थापना आफ्नो प्राथमिक एजेन्डा रहेको उनको भनाइ थियो ।
त्यसैगरी सन्तुलित र स्वाभिमानी विदेश नीति अवलम्बन गर्दै उत्पादन र रोजगारीमा केन्द्रित अर्थतन्त्र निर्माण गर्ने, कृषि–उद्योगबीच सहकार्य बढाई देशभित्रै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।


















Discussion about this post