नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस विविध कार्यक्रमसहित मनाइयो

सार्थक व्युरो । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना गरिएको छ। कलेजको बीडीएस १२औँ ब्याचका विद्यार्थीहरूको संयोजनमा सम्पन्न कार्यक्रमले मुख तथा दन्त स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको थियो।
दिउँसो १ बजे डेन्टल ब्लकमा ब्यानर अनावरणसँगै सुरु भएको कार्यक्रममा कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिन प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा. डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा. डा. निलमणि उपाध्यायसहित विभिन्न उच्च पदस्थ पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक डा. यासमिनले मानव स्वास्थ्यको समग्र अवस्थासँग मुख तथा दन्त स्वास्थ्य प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो। उहाँले मुख स्वास्थ्यसम्बन्धी सचेतना समुदायस्तरसम्म पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि कलेज प्रशासनले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो।
अन्य वक्ताहरूले पनि मुख स्वास्थ्य समग्र स्वास्थ्यको आधारभूत हिस्सा भएको उल्लेख गर्दै नियमित दन्त परीक्षण, व्यक्तिगत सरसफाइ र व्यापक जनचेतनाको आवश्यकता औंल्याए।
“ह्याप्पी माउथ इज अ ह्याप्पी लाइफ” भन्ने नारासहित आयोजित प्यानल छलफलमा प्राध्यापकहरूले मुख स्वास्थ्यको महत्व, यसको जीवनशैलीसँगको सम्बन्ध तथा सचेतनाको आवश्यकताबारे धारणा राखेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले सचेतनामूलक नाटक, नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुतिमार्फत मुख स्वास्थ्यसम्बन्धी सन्देश प्रभावकारी ढंगले प्रस्तुत गरेका थिए। यसअघि बिहान रील्स तथा पोस्टर प्रदर्शनीसमेत आयोजना गरिएको थियो, जसको मूल्याङ्कनपछि उत्कृष्ट सहभागीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।
प्रमुख अतिथि डा. सबिहा यासमिनले उत्कृष्ट सहभागीहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभएको थियो। आयोजकका अनुसार कार्यक्रमले मनोरञ्जनसँगै मुख स्वास्थ्यप्रति जनमानसमा सकारात्मक सन्देश फैलाउन योगदान पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित